सचिव शर्मा आजदेखि अवकाशमा

काठमाडौं । करिब ४ दशक लामो निजामती यात्रापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा सोमबार (आज)देखि अनिवार्य अवकाशमा गएका छन् । शर्मा  उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

२०४६ साउन १ गते सवइन्जिनियरबाट सेवा सुरु गरेका शर्माले ३६ वर्षको करिअरमध्ये अधिकांश समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायमै बिताए । 

जल तथा ऊर्जा आयोग, ऊर्जा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छोटो बसाइबाहेक उनको सबै यात्रा भौतिक क्षेत्रमा केन्द्रित रहेको उनले जानकारी दिए ।

साढे तीन वर्षको सफल सचिवको कार्यकाल पूरा गरी सेवाबाट अवकाश भएको उनले बताए । उनले आफ्नो कार्यकालमा विभिन्न मन्त्रालय र निकायहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 

शर्माले सचिवको कार्यकालमा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जल तथा ऊर्जा आयोगको सचिवालय गरी तीनवटा प्रमुख निकायमा सचिवको रूपमा कार्यभार सम्हालेका थिए ।

उनी प्रशासन संयन्त्रमा अनुभवी र शालीन प्रशासकका रूपमा चिनिन्छन् । उनले सरकारी सेवाबाट अवकाश लिए पनि समाज र देशका लागि बाहिर बसेर पनि योगदान दिन सकिने र आफ्नो अनुभवलाई बाँडिरहने इच्छा व्यक्त गरे । 

Share News