‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत 'अवसरको झोला' अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ ।

हरेक बालबालिकामा सपना भए पनि ती सपना पूरा गर्न सबैसँग समान अवसर नहुने यथार्थलाई आत्मसात गर्दै बैंकले उक्त अभियान सञ्चालन गरेको जनाएको छ । बैंकका अनुसार कसैका लागि सामान्य देखिने विद्यालय झोला यी बालबालिकाका लागि अवसरको ढोका बन्न सक्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको हो । अभियानमार्फत विद्यार्थीहरूलाई झोला मात्र नभई सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यप्रतिको आशासमेत प्रदान गरिएको बैंकले उल्लेख गरेको छ ।

कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाको अनुहारमा देखिएको खुशीले सामग्री प्राप्तिभन्दा पनि 'अब म पनि सक्छु' भन्ने आत्मविश्वास झल्किएको बैंकको भनाइ छ । यस अभियानअन्तर्गत बैंकले शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालय पोशाक वितरण गर्नुका साथै मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदरसमेत गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म बैंकले सुर्खेत, कालिकोट, धनुषालगायत जिल्लामा करिब ५०० भन्दा बढी विद्यालय झोला वितरण गरिसकेको जनाएको छ ।  

Share News