काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिल्टन होटलको पुनर्बीमा प्रकरणमा कानुन विपरीत काम गर्ने दुई रिइन्स्योरेन्स कम्पनी र पुनर्बीमा ब्रोकरलाई कारबाही गरेको छ ।
प्राधिकरणले हिल्टन होटेलको ‘हुलदंगा तथा आतंकवाद जोखिम’को पुनर्बीमा र पुनर्बीमाको दायित्वमा निर्देशन र निमतविपरीतको कार्य गरेको भन्दै नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा, हिमालयन रि इन्स्योरेन्स र दी ओरिएन्टल इन्स्योरेन्सलाई दुई–दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
प्राधिकरणका अनुसार एलियन्ट पुनर्बीमा ब्रोकर कम्पनीको लाइसेन्स तीन महिनालाई निलम्बन गरेको छ ।
रिइन्स्योरेन्स कम्पनी, बीमा कम्पनी र ब्रोकर कम्पनीले बीमा ऐन र प्राधिकरणको निर्देशन विपरीत हिल्टनको हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा नियोजित रूपमा हिमालयन रि–इन्स्योरेन्समा गरेको र पुनर्बीमाको दायित्व भने सरकारी स्वामित्वको नेपाल रिमा पार्न खोजेको देखिएपछि प्राधिकरणले कारबाही गरेको जनाएको छ।
प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेलले कारबाही भएको भएको बताइन् । उनले भनिन्, ‘कारबाही भएको हो तर पूर्ण जानकारी बोर्डबाट आउन बाँकी नै छ ।’
प्राधिकरणका अनुसार कम्पनीहरूलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार कारबाही गरेको हो । उक्त दफामा प्राधिकरणको निर्देशनविपरीत काम गरेमा दुई लाखदेखि ५० लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
‘यो ऐन वा ऐनअन्तर्गत बनेको नियम, विनियम वा आदेश पालना नगेमा वा यस ऐनबमोजिमको रीत नपुर्याई बिमा व्यवसाय गरेमा वा झुटा विवरण तयार गरेमा प्राधिकरणले देहायबमोजिमको जरिवाना गर्न सक्नेछ ।
दफा १३८ को उपदफा ४ अनुसार (क) पहिलोपटकका लागि दुई लाख रुपैयाँ, (ख) दोस्रोपटकका लागि पच्चीस लाख रुपैयाँ र (ग) तेस्रोपटक वा सोभन्दा बढीको लागि पटकैपिच्छे पचास लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।
गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनको क्रममा हिल्टन होटलमा आगजनी भएको थियो । सो आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त होटलको बीमा कम्पनीमा ६ अर्ब रुपैयाँबराबरको बीमा दाबी परेको थियो ।