राजीनामा अस्विकृत भएसँगै सभापतिका रुपमा सक्रिय हुनेछन् गगन

यी हुन् राजीनामा अस्विकृतमा लिएका ८ आधार

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापाको राजीनामा स्वीकार नगर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तन उपयुक्त नदेखिएको निष्कर्ष निकाल्दै थापालाई नै निरन्तर जिम्मेवारीमा राख्ने निर्णय गरेको हो । 

निर्वाचन परिणामको नैतिक जिम्मेवारी वहन गर्दै थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पत्र बुझाएका थिए । त्यसपछि उक्त विषय केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गरी विस्तृत छलफल भएको थियो । 

उनको राजीनामाबारे कांग्रेसको केन्द्रीय समिति बैठकमा शुक्रबार र आइतबार सदस्यहरुले आआफ्नो राय राखेका थिए । अधिकांश सदस्यले राजीनामा अस्विकृत गर्नुपर्ने धारणा राखेपछि बैठकले राजीनामा स्वीकृत गर्न अस्विकृत गरेको हो । 

आइतबार बसेको बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले सभापति थापाको राजीनामा अस्वीकार गरिएको जानकारी दिए । उनका अनुसार बैठकले निर्वाचनमा आएको हारलाई केवल नेतृत्वको कमजोरीका रूपमा नभई संरचनागत सीमितता र पार्टीको नियन्त्रणभन्दा बाहिर रहेका परिस्थितिसँग जोडेर हेरेको छ ।

प्रवक्ता चालिसेका अनुसार अहिलेको जटिल राष्ट्रिय परिवेशमा थापाको नेतृत्व अझै आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको हो । राजीनामा स्वीकृत गरिए पार्टीभित्र अनावश्यक अस्थिरता उत्पन्न हुने, अन्योल बढ्ने र कार्यकर्ताको मनोबल कमजोर बन्न सक्ने आकलन गर्दै केन्द्रीय कार्यसमितिले त्यसलाई अस्वीकार गरेको उनले बताए ।  

उनले सभापतिको राजीनामालाई बाध्यकारी भन्दा पनि नैतिक तथा स्वेच्छिक कदमका रूपमा व्याख्या गर्दै त्यसप्रति सम्मान व्यक्त गरिएको, तर पार्टीको समग्र हितलाई ध्यानमा राखेर स्वीकृत नगरिएको स्पष्ट पारे । 

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको नेतृत्वमा आएका थिए । तर, फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम ल्याउन नसकी ३८ सिटमा सीमित भएको थियो । त्यसपछिको समीक्षा क्रममा सभापति थापाले हारको जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । 

अब पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ व्यवस्थित ढंगले अघि बढाउन वर्तमान नेतृत्वकै निरन्तरता आवश्यक रहेको निष्कर्षसमेत बैठकले निकालेको प्रवक्ता चालिसेले जानकारी दिए । अब १५औं नियमित महाधिवेशनको नेतृत्व थापाले नै गर्नेछन् । पार्टीले उनको राजीनामा अस्विकृत गरेसँगै अब उनी सभापति कायम नै भएका छन् । 

बैठकले विभिन्न आधारहरूलाई ध्यानमा राख्दै राजीनामा अस्वीकार गर्ने निर्णय गरेको बताएको छ । निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको र राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेको, राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले बताएको छ । 

यस्तै, सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले, विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस  २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले, पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले र केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले राजीनामा अस्विकृत गरिएको उल्लेख गरेको छ ।
 

Share News