प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच यी १२ विषयमा भयो संवाद

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । भेटका क्रममा लामिछानेले कार्की नेतृत्वको सरकारले देशलाई शान्तिपूर्ण राजनीतिक निकासतर्फ अघि बढाएको भन्दै बधाई तथा सम्मान व्यक्त गरेका छन् । 

प्रधानमन्त्रीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई उनले ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै त्यसले मुलुकलाई स्थिर र सुरक्षित अवतरणतर्फ डो¥याएको बताएका छन् । छोटो समय र सीमित संयन्त्रका बीच पनि निष्पक्ष, शान्तिपूर्ण र गुणस्तरीय निर्वाचन सम्पन्न हुनु कार्कीको दृढता र स्पष्ट अडानको परिणाम भएको उनको भनाइ थियो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार लामिछानेले भेटका क्रममा कार्कीको योगदानलाई मुलुकले दीर्घकालसम्म स्मरण गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि उनको मार्गदर्शन र अभिभावकीय भूमिका आवश्यक रहने धारणा राखेका थिए । उनले देश र भावी सरकारका लागि प्रधानमन्त्रीको अनुभव अझै उपयोगी रहने विश्वाससमेत व्यक्त गरे । 

जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि शुभकामना दिँदै जनतामा निराशा फैलिन नदिने गरी जिम्मेवार ढंगले काम गर्न सुझाव दिइन् । उनले अहिले देशका नागरिकले विशेषगरी युवाप्रति धेरै आशा राखेकाले त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताइन् । 

प्रधानमन्त्री कार्कीले चुनौतीहरू धेरै भए पनि धैर्य, इमानदारी र प्रतिबद्धताका साथ अघि बढे अपेक्षित परिणाम हासिल गर्न सकिने उल्लेख गरिन् । आलोचना र विरोधको सामना काममार्फत गर्नुपर्ने उनको सुझाव थियो । 

भेटका क्रममा समसामयिक राजनीतिक परिस्थिति, सरकारको भूमिकालगायत विषयमा पनि कुराकानी भएको जनाइएको छ। लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो वा पार्टीको कुनै असहमति नरहेको स्पष्ट पार्दै सरकारले आफ्नो कार्यकालको अन्तिम दिनसम्म पूर्ण अधिकारका साथ काम गर्न पाउनुपर्ने धारणा राखे । 

उनले ऐतिहासिक जिम्मेवारी पूरा गरेको सरकारप्रति सम्मान व्यक्त गर्दै यसका सकारात्मक कदमलाई साथ दिने र निर्णयलाई स्वीकार गर्ने बताए । नयाँ सरकार गठन नहुँदासम्म उपलब्ध समय र अधिकार प्रयोग गरी आवश्यक काम अघि बढाउन पनि उनले सुझाव दिएका छन् । 

Share News