अर्थतन्त्र खेलाउनेहरूको हातमा सुन

वार्षिक २० प्रतिशत प्रतिफलले आकर्षित हुँदै ठूला व्यवसायी

काठमाडौं । कुनैबेला महिलाको श्रृङ्गारमा बढी प्रयोग हुने सुन अहिले बचत, लगानी र प्रतिफलका रूपमा प्रयोग हुने गरेको छ । पछिल्ला आठ महिनाको तथ्यांकले पनि सुन लगानीको एउटा महत्त्वपूर्ण उपकरणको रूपमा देखिएको छ । बजारमा सुनको मूल्य बढे पनि किन्ने ग्राहकको संख्या भने घटेको छैन । यसले पनि अब उपभोक्ताको रोजाइमा मात्रै नभई अर्थतन्त्र खेलाउनेहरूको हात र नजरमा पनि सुन पर्न थालेको बुझ्न सकिन्छ । 

अर्थशास्त्रको नियमअनुसार मूल्य बढ्दा माग घट्नुपर्ने हो । तर, यहाँ उल्टो भइरहेको छ । व्यवसायी मणिकरत्न शाक्य भन्छन्, ‘ सुनको बजारमा मूल्यवृद्धिले माग घटाएको छैन, बरु ‘अझै महँगिन्छ’ भन्ने मनोविज्ञानले खरिदलाई थप उकासेको छ ।’

उनका अनुसार मानिसहरूमा अझै सुन बढ्छ भन्ने आशाकै कारण थप माग बढिरहेको छ र आयात पनि सोही ढंगले बढिरहेको छ । उनी अन्य क्षेत्रको तुलनामा सुन बजारमा राम्रो प्रतिफल भएको कारण पनि सबैको ध्यान र लगानीको उपकरण सुन नै भएको बताउँछन् । 

चालु आर्थिक वर्षको फागुनसम्म नेपालले २३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँबराबरको सुन आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १४ अर्ब ३७ करोड ११ लाख २६ हजार रुपैयाँ थियो । यसरी हेर्दा सुन आयात ६३.४९ प्रतिशतले बढेको छ ।

साउनमा १ अर्ब ५२ करोड रुपैयाँबराबर रहेको सुन आयात फागुनसम्म आइपुग्दा २३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अर्थात् आठ महिनाभित्रै आयातको आकार १४४५ प्रतिशतले उकालो लागेको देखिन्छ । यही अवधिमा सुनको मूल्य पनि चर्को गतिमा बढेको छ । साउनमा प्रतितोला १ लाख ९६ हजार रुपैयाँ रहेको सुन फागुन ८ गतेसम्म २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यसले आठ महिनामा ४३.८७ प्रतिशत मूल्यवृद्धि भएको देखाउँछ ।

भन्सार विभागका अनुसार आयातको परिमाण पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको फागुनसम्म कुल ११ लाख ८८ हजार ८९६ ग्राम परिमाणको सुन आयात भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म कुल १२ लाख ५४ हजार ११३ ग्राम सुन आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४८ प्रतिशत बढी हो । यो हिसाबले ८ महिनामा १२ सय ५४ केजी सुन आयात भएको देखिन्छ । १२५४ केजी ८ महिना भाग लगाउँदा साढे ५ केजीमात्रै हुन आउँछ । 

गत माघसम्म ११ सय ५४ केजी सुन आयात भएकोमा फागुनमा १२ सय ५४ केजी पुगेको छ । यो एक महिनाको अवधिमा एक सय केजी सुन आयात भएको देखिन्छ । यसलाई दैनिक हिसाब गर्दा एक दिनमा ३.३३ केजी सुन आयात भएको तथ्यांकले देखाउँछ । 

यद्यपि नेपाल राष्ट्र बैंकले भने दैनिक २५ केजी सुन आयात गर्न मिल्ने व्यवस्था गरेको छ । यसले पनि केजीको सीमाभन्दा निकै तल सुन आयात भएको तथ्यांकले देखाउँछ । 

राष्ट्र बैंकले गत असोजमा एकीकृत परिपत्र २०८१ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई २५ केजी कायम गरेको थियो । त्यसअघि दैनिक २० केजीसम्म मात्रै सुन आयात गर्न सकिने व्यवस्था थियो ।

सामान्यतया मूल्य बढ्दा माग घट्ने अनुमान गरिन्छ । तर, सुन बजारले त्यो मान्यतालाई उल्ट्याएको छ । व्यवसायीहरूका अनुसार अहिलेको बजारमा चाडपर्व, विवाह र सामाजिक संस्कारका कारण हुने परम्परागत खरिद त छँदैछ, त्यसबाहेक लगानीका रूपमा सुन किन्ने प्रवृत्ति पनि तीव्र बनेको छ । धेरै ग्राहक अहिले ‘आज महँगो भए पनि भोलि अझै महँगो हुन सक्छ’ भन्ने मनोविज्ञानमा छन् । त्यसैले गहना मात्र होइन, मूल्य जोगाइराख्ने साधनका रूपमा पनि सुनको आकर्षण बढेको व्यवसायीहरू बताउँछन् । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष समेत रहेका शाक्यका अनुसार अहिले सुनलाई उपभोक्ताले उपभोग्य वस्तुभन्दा पनि सुरक्षित लगानीको उपकरणका रुपमा बुझेका छन् । उनी भन्छन्, ‘बैंकले पनि वार्षिक ६/७ प्रतिशतमात्रै प्रतिफल दिइरहेका छन्, अन्य क्षेत्रमा खासै प्रतिफल छैन । तर, सुनमा वार्षिक २० प्रतिशतको हाराहारीमा प्रतिफल छ, त्यसैले महँगो भए पनि सुन खरिद गरेको देखिन्छ ।’

पछिल्लो ८ महिनाको तथ्यांकले पनि व्यवसायीको बुझाइ मेल खान्छ । भन्सार विभागका अनुसार साउनमा १ अर्ब ५२ करोड, भदौमा ३ अर्ब १२ करोड, असोजमा १० अर्ब २५ करोड, कात्तिकमा १५ अर्ब ७२ करोड, मंसिरमा १५ अर्ब ७२ करोड, पुसमा १८ अर्ब ८३ करोड, माघमा २१ अर्ब २० करोड र फागुनसम्म २३ अर्ब ४९ करोड रुपैयाँबराबरको सुन आयात भएको छ । यसले बजारमा माग क्रमिक रूपमा विस्तार भएको देखाउँछ ।

null

व्यवसायी शाक्यका अनुसार सुन आइतबार केही घटे पनि अझै बढ्न सक्ने सम्भावना देखिन्छ । ‘अहिले अमेरिकाले डलरको भाउ बढाउन खोजेको छ, चीनले सुनको मूल्य बढाउन खोजेको छ, दुई देशको व्यापारिक युद्धमा कसको जित हुन्छ भन्ने विषय महत्त्वपूर्ण छ, साढे तीन लाख रुपैयाँ पुगेको सुन अझै घट्ने सम्भावना न्यून छ, सुनको मूल्य अझै बढ्छ,’ उनले भने । 

बजारमा सुनको माग बढेपछि आपूर्ति व्यवस्थापनमाथि पनि दबाब परेको छ । नेपालमा सुन आयातको व्यवस्था राष्ट्र बैंकको सीमा र प्रक्रिया अनुसार वाणिज्य बैंकमार्फत हुने भएकाले व्यवसायीहरू लामो समयदेखि कोटा पर्याप्त नभएको, वितरण प्रक्रिया सहज नभएको र बजार मागअनुसार आपूर्ति हुन नसकेको गुनासो गर्दै आएका छन् । 

बैंकहरूले सुन आयात गरेर व्यवसायीलाई उपलब्ध गराउने भए पनि सुनलाई सबै बैंकले प्राथमिकताको वस्तुका रूपमा नहेर्ने व्यवसायीहरूको भनाइ छ । यसले कहिलेकाहीँ बजारमा सुनको सहज आपूर्तिमा अवरोध ल्याउने गरेको छ ।

ग्राहकको रुचिमा पनि परिवर्तन आएको छ । पहिलेजस्तो भारी गहना भन्दा कम ज्याला, कम जर्ती र पछि बेच्न सजिलो हुने प्रकारका गहना वा सादा सुन किन्ने प्रवृत्ति बढेको व्यवसायीहरू बताउँछन् । 

मूल्य निरन्तर बढिरहेकाले यसलाई व्यवसायी र उपभोक्ताहरूले पनि वैकल्पिक लगानीका रुपमा पनि बुझ्न थालेका छन् । व्यवसायीहरूका अनुसार पुराना गहना बेचेर नयाँ किन्ने र मूल्य बढेका बेला नाफा बुक गर्ने अभ्यास पनि सुन बजारमा देखिएको छ । 

नेपालको सुन बजार अन्तर्राष्ट्रिय बजारसँग गहिरो रूपमा जोडिएको छ । विश्व बजारमा सुरक्षित लगानीको खोजी, भू-राजनीतिक तनाव, अमेरिकी ब्याजदरको अनिश्चितता, केन्द्रीय बैंकहरूको खरिद र लगानी कोषहरूको प्रवेशका कारण सुनको मूल्यमा चाप बढिरहेको छ । जब अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लाग्छ, त्यसको सीधा असर नेपाली बजारमा पर्छ । डलर विनिमयदर, आयात लागत, कर र स्थानीय माग थपिँदा नेपालमा सुन अझ महँगो पर्न जान्छ ।

null

यही कारण अहिले देखिएको मूल्यवृद्धि स्थानीय बजारको मात्र कारण होइन, विश्व बजारमा बढेको माग, सीमित आपूर्ति, लगानीकर्ताको आकर्षण र आर्थिक अनिश्चितताको प्रभाव पनि हो । विश्वव्यापी रूपमा पनि सुन अहिले परम्परागत गहनाभन्दा बढी ‘सेफ हेभेन एसेट’ अर्थात् संकटको बेलाको सुरक्षित सम्पत्तिका रूपमा हेरिन थालेको छ । नेपालमा पनि सोही प्रवृत्ति बलियो हुँदै गएको संकेत फागुनसम्मको आयात तथ्यांकले दिएको छ ।

सुन आयात बढ्नु भनेको विदेशी मुद्रा बाहिरिनु हो । रेमिट्यान्समा टिकेको नेपाली अर्थतन्त्रमा उच्च परिमाणको सुन आयात हुनु बाह्य क्षेत्रका लागि चुनौती हुन सक्छ । त्यसैले पनि राष्ट्र बैंकले सुन आयातमा निश्चित सीमा र बैंकमार्फत वितरण व्यवस्था राखेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा सुन व्यवसायी दियसरत्न शाक्य पनि सुन अब उपभोगभन्दा पनि लगानीका लागि खरिद गर्ने अभ्यास बढेको बताउँछन् । उनका अनुसार सुन अब सामान्य नेपालीको क्रयशक्तिभन्दा धेरै बाहिर गइसकेको छ । 

‘अहिले सर्वसाधारण नेपालीको पहुँचमा सुन छैन, व्यवसायी र आकर्षक प्रतिफल चाहनेहरूले सुन खरिद गरिरहेका छन् । तर, अझै पनि सरकारले व्यवस्था गरेअनुसार सुन आयात हुन सकेको छैन,’ उनले भने । 

Share News