काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र शीर्ष नेतृत्वबीच भएको सातबुँदे सहमति कार्यान्वयनतर्फ अघि बढेको छ । पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह बालेनबीच भएको सहमति कार्यान्वयन गर्नेगरी विधान संसोधन गर्न चैत १२ गते केन्द्रीय समिति बैठक बोलाइएको छ ।
पूर्वसहमति अनुसार शाहलाई संसदीय दलको नेता बनाउने गरी विधान संसोधन गर्न उक्त बैठक बोलाइएको हो । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १२ गते केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।
सर्वसम्मति भएपछि दलको विधान संशोधन गर्न जरुरी नहुने महामन्त्री बुर्लाकोटीले बताए । गत पुस १३ गते भएको सात बुँदे सहमतिअनुसार लामिछाने पार्टीको सभापति रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा शाहलाई अघि सार्ने समझदारी बनेको थियो । सोही सहमतिअनुसार अहिले संसदीय नेतृत्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको हो ।
महामन्त्री बुर्लाकोटीका अनुसार सातबुँदे समझदारीमा पार्टीभित्र कार्यकारी नेतृत्व र संसदीय नेतृत्वलाई छुट्टाछुट्टै रूपमा अघि बढाउने रणनीति तय गरिएको छ । यसअनुसार पार्टीको समग्र संगठनात्मक जिम्मेवारी सभापति लामिछानेकै नेतृत्वमा रहनेछ भने संसदभित्रको नेतृत्व शाहले सम्हाल्नेछन् ।