काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको क्यापिटलले सोही अभियानलाई निरन्तरता दिँदै मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोकमा चैत्र ६ गते ‘मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको हो ।
कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले ग्लोबल मनी वीक २०२६ को मुख्य थिम ‘स्मार्ट मनी टक्स’ मा आधारित प्रस्तुति दिएका थिए । उनले विद्यार्थी जीवनदेखि नै बचत गर्ने बानी विकास गर्ने तरिका, स–सानो बचतलाई सरल रूपमा लगानी गर्ने उपाय तथा वित्तीय अनुशासनको महत्वबारे विस्तृत जानकारी गराए ।
त्यसक्रममा बैंक खाता तथा डिम्याट खाता खोल्ने प्रक्रिया, प्राथमिक शेयर (आईपीओ), धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष, एसआईपी तथा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे समेत जानकारी प्रदान गरिएको थियो । साथै पूँजी बजारको पछिल्लो अवस्था सम्बन्धमा छलफल समेत गरिएको थियो ।
कार्यक्रममा रायमाझीले एएमएल/सीएफटी सम्बन्धी आधारभूत जानकारी तथा वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि सहभागीलाई अवगत गराएका थिए ।
अन्त्यमा विद्यार्थी, शिक्षक तथा क्याम्पसका कर्मचारीहरूको सक्रिय सहभागितामा मुद्रा तथा पूँजी बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २२० भन्दा बढी विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।