राष्ट्र बैंकले सार्वजनिक गर्यो २०८३ सालका लागि बैंक बिदाको सूची, कुन-कुन दिन बिदा हुनेछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आगामी वर्ष २०८३ का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायका पर्व बिदासहित बैंकिङ कारोबार समयसम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार वैशाख १ गते नयाँ वर्षका अवसरमा बैंक बिदा रहनेछ । त्यसैगरी वैशाख १८ गते बुद्ध जयन्ती तथा किराँत समुदायको उभौली पर्व, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षाबन्धन र भदौ १३ गते गाईजात्राका अवसरमा बिदा दिइनेछ । गाईजात्रा भने काठमाडौं उपत्यका र नेवार समुदायका लागि मात्र लागू हुनेछ ।

यस्तै, भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व, भदौ २९ गते हरितालिका (तीज) व्रतका अवसरमा महिला कर्मचारीलाई मात्र बिदा दिइनेछ भने असोज ३ गते संविधान दिवसका अवसरमा देशभर बैंक बिदा रहनेछ । असोज ९ गते इन्द्रजात्रा (काठमाडौं उपत्यकामा मात्र) र असोज १८ गते जितिया पर्व (सम्बन्धित महिला कर्मचारीका लागि मात्र) का दिन पनि बिदा रहनेछ ।

असोज २५ गते घटस्थापनादेखि सुरु हुने बडा दशैंको बिदा असोज ३१ गते (फूलपाती) देखि कात्तिक ६ गते (द्वादशी) सम्म कूल ७ दिन रहनेछ । त्यसैगरी तिहार बिदा कात्तिक २२ गते (लक्ष्मीपूजा) देखि कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) सम्म कूल ५ दिन हुनेछ ।

कात्तिक २५ गते फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीका लागि मात्र), कात्तिक २९ गते छठ पर्व, मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (अपाङ्गता भएका कर्मचारीका लागि मात्र), पुस ९ गते धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्हि तथा ज्यापु दिवसका अवसरमा बिदा दिइनेछ । पुस १० गते क्रिसमस डे, पुस १५ गते तमू ल्होसार र दुरा समुदायको पर्व, तथा पुस २८ गते पृथ्वी जयन्तीका अवसरमा पनि बैंक बिदा रहनेछ 

त्यसैगरी माघ १ गते माघे सङ्क्रान्ति, माघ १६ गते सहिद दिवस, माघ २४ गते सोनम ल्होसार, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २२ गते महाशिवरात्रि, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते ग्याल्पो ल्होसार, चैत १ गते पहाडी तथा हिमाली होली र चैत २ गते तराई होलीका अवसरमा पनि बैंक बिदा रहनेछ ।

राष्ट्र बैंकले कार्यालय समयलाई दुई भागमा विभाजन गरेको छ । वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । 

कात्तिक १६ देखि माघ १५ सम्मको हिउँदे समयमा भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म रहनेछ ।

प्रत्येक शनिबार बैंक पूर्ण रूपमा बन्द रहनेछ । साथै, नेपाल सरकारले आकस्मिक रूपमा सार्वजनिक बिदा घोषणा गरेको अवस्थामा पनि नगद भुक्तानी, ईसीसी, आरटीजीएस तथा मौद्रिक व्यवस्थापनजस्ता अत्यावश्यक सेवाहरू सीमित कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ । 

Share News