प्रभु बैंकका ५ जिल्लाका १४ शाखा मर्ज हुने, फर्निचर र उपकरण बिक्रीमा

काठमाडौं । प्रभु बैंकले विभिन्न ५ जिल्लाका १४ वटा शाखा कार्यालय समायोजन (मर्ज) गर्ने भएको छ । बैंकका अनुसार मोरङको विराटनगर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिका भित्र एक–अर्कासँग नजिक रहेका शाखाहरूलाई एकीकृत गरी कारोबार सञ्चालन गरिनेछ ।

समायोजनपछि सञ्चालनमा रहने शाखाहरूबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । मोरङको गोल्छाचोक शाखा समायोजनपछि तिनपैनी शाखाबाट सेवा सञ्चालन हुनेछ । कास्कीमा अर्घौचोक शाखा तालचोक शाखामा, हरिचोक शाखा बगर शाखामा र नयाँगाउँ शाखा अमरसिंह चोक शाखामा समायोजन गरी सेवा सञ्चालन गरिनेछ ।

यस्तै, चितवनको बेलचोक शाखा लायन्स चोक शाखामा गाभिनेछ । ललितपुरमा पाटन शाखा मंगलबजार शाखामा र सातदोबाटो चोक शाखा सातदोबाटो शाखामा समायोजन गरिनेछ ।

बैंकका अनुसार काठमाडौंका बौद्ध शाखा समायोजनपछि बौद्ध १ शाखा, बागदरवार शाखा समायोजनपछि खिचापोखरी शाखा, नरेफाँट शाखा समायोजनपछि कोटेश्वर शाखा, सिनामंगल एयरपोर्ट शाखा समायोजनपछि सिनामंगल शाखा, मित्रपार्क शाखा समायोजनपछि चाबहिल शाखा, टेकु शाखा समायोजनपछि कालिमाटी शाखा र पुतलीसडक शाखा समायोजनपछि कमलादी शाखाबाट सेवा सञ्चालन हुनेछ । 

समायोजन (मर्ज) हुने शाखा कार्यालयहरूमा रहेका तथा जडान भएका फर्निचर, फिक्स्चर, उपकरण तथा लिजहोल्ड इम्प्रुभमेन्ट्सलगायत सम्पत्ति जे–जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । उक्त स्थानहरूमा आफ्नो शाखा कार्यालय सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीहरूले बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

Share News