भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्घाटन, उपत्यकामा बजार विस्तार

काठमाडौं । टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो बजार उपस्थितिलाई विस्तार गर्दै भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । सानो ठिमीस्थित सियाराम ग्रुप र बिन्देश्वरी प्लानिङ क्षेत्रस्थित पञ्चदेवल सप्लायर्समार्फत शोरुम सञ्चालनमा आएका हुन् ।

कम्पनीका अनुसार लामिनारले आठ वटा कलेक्सनअन्तर्गत ५५० भन्दा बढी डिजाइनसहित नेपालकै फराकिलो टायल संग्रह बजारमा प्रस्तुत गरेको छ । नयाँ शोरुमहरूमा आवासीय घर, होटल तथा आतिथ्य क्षेत्र र व्यावसायिक परियोजनाका लागि उपयुक्त पानी नसोस्ने तथा अभेद्य टायलहरू प्रदर्शनमा राखिएका छन् । मार्बल शैलीका डिजाइन, आधुनिक ढुङ्गा बनावट तथा प्रिमियम पोलिस गरिएको सतहका टायलहरू अवलोकन तथा खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

लामिनारको पोलिस्ड मार्बल तथा ओनिक्स श्रृंखलामा १०४ भन्दा बढी ग्लस युनिट भएको उच्च चमकदार सतह प्रयोग गरिएको कम्पनीले जनाएको छ, जसले ऐनाजस्तै चम्किलो प्रभाव प्रदान गर्छ । यस्तो सतह विशेषगरी लक्जरी भिला, होटल तथा बारजस्ता स्थानका लागि उपयुक्त मानिन्छ । गहिरो पोलिस स्पष्टतासहित तयार गरिएका यी टायलहरू प्रिमियम मार्बलको गुणस्तरसँग मेल खाने बताइएको छ ।

केही टायलहरूमा पीईआई–५ घर्षण प्रतिरोध, मोस कडापन तथा आर–१२ नचिप्लने सतहजस्ता विशेषता समावेश गरिएका छन्, जसले बढी आवागमन हुने स्थानमा समेत प्रयोग गर्न उपयुक्त बनाउने कम्पनीको दाबी छ ।

उद्घाटन समारोहमा सियाराम ग्रुपका निर्देशक हरिश जाजोडिया अग्रवालले लामिनारको प्रविधि, डिजाइन र गुणस्तरको निरन्तरताले बजारमा विश्वास स्थापित गरेको बताए । उनले नयाँ शोरुममार्फत घरधनी, आर्किटेक्ट तथा डेभलपरहरूले टिकाउ र आधुनिक टायल सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

पञ्चदेवल सप्लायर्सका निर्देशक उपेन्द्र शाहीले लामिनारका मार्बल शैलीका डिजाइन तथा पानी नसोस्ने प्रविधिले लक्जरी इन्टेरियरका लागि आकर्षक विकल्प प्रस्तुत गरेको बताए । उनका अनुसार ग्राहकहरू अहिले डिजाइन सौन्दर्यसँगै दीर्घकालीन टिकाउपन खोजिरहेका छन् ।

शोरुम उद्घाटन गर्दै लामिनारका निर्देशक अभिनव चुरीवालले नेपालमै उत्पादन हुने तर अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्ने उन्नत प्रविधियुक्त सतह उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको बताए । बर्दियास्थित उच्च क्षमतायुक्त कारखानामा इटालीको ग्लेज र स्पेनको डिजिटल इन्क प्रविधि प्रयोग गरी उत्पादन गरिने टायलले नेपालको टायल उद्योगको बढ्दो क्षमता झल्काउने उनले बताए ।

शोरुम सञ्जाल विस्तारसँगै लामिनारले देशभर आफ्नो बजार उपस्थिति थप मजबुत बनाउँदै लगेको जनाएको छ । नेपालमै उत्पादन गरिएका विश्वस्तरीय भिट्रिफाइड टायल विभिन्न सतह आवश्यकताका लागि बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।  

Share News