काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार (आज) मध्यान्ह १ बजेबाट सुरु हुँदैछ । बैठकको मुख्य एजेण्डा पार्टीको १५औं नियमित महाधिवेशन रहने संकेत देखिएको छ ।
पार्टीभित्र पछिल्लो निर्वाचन परिणामपछि उत्पन्न असन्तोष, नेतृत्वप्रति उठेका प्रश्न र संगठनात्मक पुनर्संरचनाको आवश्यकताबीच बस्न लागेको यो बैठकलाई कांग्रेसको भावी दिशा निर्धारण गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
पार्टीका सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार अस्वाभाविक निर्वाचन परिणामपछि सुरु भएको आन्तरिक छलफलको केन्द्रबिन्दु अब नियमित महाधिवेशनमै केन्द्रित हुने भएको छ ।
उनले आगामी १५औं महाधिवेशनलाई समयमै सम्पन्न गर्ने, त्यसका लागि आवश्यक कार्यतालिका तय गर्ने र संगठनलाई नयाँ ढाँचामा अघि बढाउने विषयमा गम्भीर छलफल हुने बताए ।
बैठकमा निर्वाचन समीक्षालाई प्राथमिकताका साथ उठाइनेछ । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको कार्यशैली, गठबन्धन रणनीति, उम्मेदवार छनोट प्रक्रिया र प्रचार अभियानका कमजोरीबारे व्यापक समीक्षा हुने तयारी गरिएको छ ।
यसले पार्टीभित्र जिम्मेवारी निर्धारण र सुधारका उपाय तय गर्ने बाटो खोल्ने सहमहामन्त्री स्नेहीले जानकारी दिए ।
यस्तै, सभापतिको सम्भावित राजीनामाको विषय पनि बैठकमा औपचारिक रूपमा प्रवेश गर्ने भएको स्नेहीले बताए।
निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज पार्टीभित्र चर्किँदै गएको सन्दर्भमा यो एजेण्डा संवेदनशील बनेको छ । यद्यपि नेतृत्व पक्षले भने महाधिवेशनमार्फत नै समाधान खोज्नुपर्ने धारणा राख्दै आएको छ ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूको सहभागिता रहनेछ ।