काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ गरिएको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका-६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित २ जना, मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीबाट ५ जना, पोखरा नगरपालिका-२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो ।
बाँकेको कोहलपुर नगरपालिका-१५ अक्कलघरुबाट खैरो हेरोइनसहित ८ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका-१८ गाउँबेँसी टोलबाट ५ जनालाई पक्राउ गरिएको छ ।
उक्त समाचार कक्षका अनुसार उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।