साइबर ब्यूरोले भन्यो- ह्वाट्सएप ह्याक बढ्यो, म्यासेजको विश्वास नगर्नु

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्सएप प्रयोगकर्तालाई सचेत रहन अनुरोध गरेको छ । बिहीबार ब्यूरोले पछिल्लो समय नेपालमा ह्वाट्सएपमा ह्याक गर्नेको संख्या बढेकाले सचेत रहन बताएको छ ।

‘म समस्या वा अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइ दिनुहोस्’ तथा ‘मेरो बैंकिङ्ग एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन । तपाई यस क्यु आरमा पैसा पठाइ दिनुहोस’ भन्ने प्रकारका म्यासेज आएर ठगी क्रम बढेको ब्यूरोले उल्लेख गरेको छ ।

ब्यूरोले साथीभाई लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटनाहरू बढिरहेकोले यस्ता घटनाबाट जोगिन सचेत गराएको हो । ब्यूरोले त्यस्ता ह्वाट्सएपमा आएका म्यासेजहरूमा तुरुन्त विश्वास नगर्न अनुरोध गरेको छ । 

 सम्भव भए सम्म सो व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्ने, शङ्कास्पद लिंक, कोड वा फाइल क्लिक र डाउनलोड नगर्ने, टु स्टेप भेरिफिकेसन अनिवार्य रूपमा प्रयोग गर्ने, आफ्नो ओटीपी र भेरिफिकेसन कोड कसैलाई पनि नदिने, आफ्नो मोबाइल र एप्स नियमित रूपमा अपडेट गर्न र ह्वाट्सएप प्रयोग गरेपछि लग आउट गर्न नबिर्सिन ब्यूरोले आग्रह गरेको छ ।

Share News