अब विदेश पुगेपछि पनि नेपाली नम्बर सक्रिय, नेपाल टेलिकमको सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोबाइल प्रयोगकर्ताले अब विश्वका ६२ देशमा रोमिङ सेवा प्रयोग गर्न सक्ने भएका छन् । कम्पनीले ती देशका ८९ वटा दूरसञ्चार सेवा प्रदायकसँग सम्झौता गरेसँगै सेवा विस्तार गरिएको जनाएको छ ।

नेपाल टेलिकमका अनुसार चालु आर्थिक वर्षको साउन महिनापछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका विभिन्न सेवा प्रदायकसँग नयाँ सम्झौता भएको छ । साथै पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवा प्रदायकसँग पनि रोमिङ सेवा विस्तारका लागि सहकार्य गरिएको छ ।

यसअघि नै अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लिच्टेन्सटाइन, लक्जेम्बर्ग लगायत विभिन्न देशमा रोमिङ सेवा उपलब्ध रहेको थियो ।

अहिले मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, फिलिपिन्स, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, स्विडेन, स्विजरल्यान्ड, थाइल्यान्ड, युएई, युके, युएसए, उज्वेकिस्तान, भियतनाम लगायत देशमा समेत सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ । रोमिङ सेवा अन्तर्गत भ्वाइस, डाटा तथा एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।

नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीलाई लक्षित गर्दै उपलब्ध गराएका सेवामध्ये रोमिङ सेवा निकै उपयोगी रहेको जनाएको छ । आगामी दिनमा थप देशमा पनि सेवा विस्तार गरिने कम्पनीको योजना छ ।

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सुचारु हुने व्यवस्था गरिएको छ । भारतमा भने मोबाइलबाट *१४१५# डायल गरी मेनुमा गएर ‘रोमिङ’ विकल्प छनोट गर्नुपर्ने हुन्छ । पोस्टपेड प्रयोगकर्ताका हकमा सेवा सञ्चालनका लागि मोबाइलमा कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स हुनुपर्ने नेपाल टेलिकमले जनाएको छ ।

नेपालमै रहँदा *१४१५# डायल गरेर रोमिङ सेवा सक्रिय गर्न सकिनेछ । विदेश पुगेपछि सेवा सक्रिय नगरेको अवस्थामा इमेलमार्फत अनुरोध गरेर पनि सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । त्यसका लागि नेपाल टेलिकमको वेबसाइटबाट फाराम डाउनलोड गरी आवश्यक विवरण भरेर नागरिकता वा पासपोर्टको प्रतिलिपिसहित इमेल गर्नुपर्ने हुन्छ । प्राप्त अनुरोधलाई कम्पनीको रोमिङ सपोर्ट टोलीले प्रमाणीकरण गरेपछि सेवा सक्रिय गरिने जनाइएको छ ।

रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा जडान हुन्छ । भारत बाहेक अन्य देशमा नेटवर्क स्वतः कनेक्ट हुने व्यवस्था भए पनि भारतमा भने प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्ने हुन्छ । अन्य देशमा स्वतः कनेक्ट नभए मोबाइलको नेटवर्क सेटिङमा गएर आफूले सेवा प्रदायक छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।

रोमिङ सेवासम्बन्धी थप जानकारी वा गुनासोका लागि नेपाल टेलिकमको आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सकिने प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।    

Share News