स्नातकोत्तर तहमा छात्रवृत्तिमा पढ्ने अवसर, पोखरा विश्वविद्यालयले माग्यो आवेदन

काठमाडौं । पोखरा विश्वविद्यालयले  छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आवेदन आह्वान गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय अन्तगर्तका आंगिक स्कुल तथा सम्बन्धन प्राप्त कलेजहरूको स्तानोकोत्तर तहका ‘मार्च इन्टेक २०२६’ कार्यक्रमहरूमा छात्रवृत्तिका लागि आवेदन मागेको हो । 

विश्वविद्यालयद्वारा प्रकाशित सूचनाअनुसार पोखरा विश्वविद्यालय छात्रवृत्ति सम्बन्धी नियमावली, २०६५ अनुसार योग्य उम्मेदवार छनोट गरिनेछ । न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले प्रवेश परीक्षाका लागि अनलाइनमार्फत दरखास्त फाराम भर्न सक्नेछन् ।

विश्वविद्यालयले मास्टर अफ कम्प्युटर इन्जिनियरिङ कार्यक्रम तर्फ ६ जना, मास्टर अफ साइन्स इन कम्प्युटर साइन्स तर्फ तीन जना, मास्टर अफ साइन्स इन स्ट्रक्चरल इन्जिनियरिङ तर्फ चार जना, मास्टर अफ साइन्स इन कन्ट्रक्सन म्यानेजमेन्ट तर्फ १५ जना, मास्टर अफ साइन्स इन ट्रान्सपोटेशन इन्जिनियरिङ तर्फ ९ जना, मास्टर अफ साइन्स इन इन्भारोमेन्टल साइन्स इन एण्ड  म्यानेजमेन्ट तर्फ तीन र मास्टर अफ साइन्स इन्टरडिसीप्लायनरी वाटर रिसोर्स म्यानेजमेन्ट तर्फ तीन जना गरी ४३ जना विद्यार्थीले छात्रवृति पाउने छन् ।            

विद्यार्थीहरूले अनलाइनमार्फत बुधबार अर्थात् चैत्र ५ गतेदेखि २०८३ वैशाख ७ गते बेलुका १२ बजेसम्म आवेदन दिन सक्ने छन् । छात्रवृत्ति छनोटका लागि प्रवेश परीक्षा भने वैशाख १३ गते आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ भने परीक्षा पोखरा महानगरपालिका ३० ढुङ्गेपाटनस्थित स्कुल अफ इन्जिनियरिङ्ग तथा ललितपुर महानगरपालिका ९ च्यासलस्थित श्रमिक शान्ति क्याम्पसमा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।

छात्रवृत्ति सम्बन्धी कार्यक्रम, आवेदन प्रक्रिया तथा अन्य विस्तृत जानकारी विश्वविद्यालयको आधिकारिक वेबसाइट र छात्रवृत्ति शाखाको पोर्टलमा उपलब्ध छ भने थप जानकारीका लागि विज्ञान तथा प्रविधि संकायको फोन नम्बर फोन गरेर पनि बुझ न सकिने जनाइएको छ ।    

Share News