चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।
शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरूको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपिल गरिएको छ । निर्वाचन पछि रक्तदानका कार्यक्रमहरू नहुँदा जिल्लामा रगतको अभाव भएको अपिलमा उल्लेख छ । अहिले जिल्लामा दैनिक १५० हाराहारी यूनिट रगतको माग हुने गर्दछ ।
रक्तदानका कार्यक्रमहरू न्यून मात्र भएपछि माग अनुसार रगत पूर्ती हुन नसकेको हो । शाखाले यहाँ सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा र ठूला अस्पतालहरूमा रहेका इकाईहरुमा बिरामीका आफन्तहरू आएर रक्तदान गर्ने गरेका छन् । बाहिरबाट आएका बिरामीहरूको उपचार रगतका कारण रोकिन थालेको छ ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले केन्द्रमा रगत नहुँदा बिरामीका आफन्त र स्वयमसेवी रक्तदाताहरुको सहयोगमा रगतको मागपूर्तीको प्रयास गरिदैं आईएको छ ।
यहाँ रहेका ठूला दुई मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल सहितका शल्यक्रिया हुने अस्पतालमा रगतको अभाव हुँदा आकस्मिक रुपमा समेत रगत पुर्याउन कठिन भएको उनले बताए । क्यान्सरका बिरामीहरूलाई धेरै रगतको आवश्यक पर्दछ ।
यस्तै सुत्केरी र दुर्घटनाका घाइते सहितलाई गरिने शल्यक्रियाका क्रममा रगतको आवश्यक हुने गर्दछ । रक्तदानका कार्यक्रमहरू नगर्दा पनि रगतको अभाव भएको केन्द्रका प्रमुख पौडेलले बताए ।