काठमाडौं । थाइल्यान्डस्थित नेपाली राजदूतावासले विभिन्न कारणले समस्यामा परेका तथा गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्ता प्रक्रियालाई तीव्र बनाएको जनाएको छ ।
राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभिन्न माध्यमबाट कम्बोडियालगायत क्षेत्रमा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्याम तथा अन्य गैरकानुनी काममा संलग्न गराइएका नेपाली नागरिकहरूको उद्धारका लागि पहल गरिएको हो । दूतावासको सक्रियता र सम्बन्धित देशका सरकारी निकायसँगको समन्वयमा हालसम्म उल्लेख्य सङ्ख्यामा नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको जनाइएको छ ।
दूतावासका अनुसार समस्यामा परेका नेपाली नागरिकहरूलाई आवश्यक कन्सुलर सहयोग उपलब्ध गराउँदै स्वदेश फर्काउने प्रक्रिया सहजीकरण गरिएको छ । साथै, आवश्यक परे एकतर्फी यात्रा अनुमति (वन–वे ट्राभल परमिट) उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
विदेशमा रोजगारी वा अन्य प्रयोजनका नाममा गैरकानुनी गतिविधिमा संलग्न गराउने गिरोहप्रति सचेत रहन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ । विशेषगरी कम्बोडिया, लाओस, म्यानमारलगायत क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभनमा नपर्न तथा वैदेशिक रोजगारीमा जानुअघि आधिकारिक माध्यमबाट मात्र प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ ।
राजदूतावासले समस्यामा परेका नेपाली नागरिक वा उनका परिवारजनलाई आवश्यक सहयोगका लागि दूतावासमा उपलब्ध सम्पर्क माध्यममार्फत सम्पर्क गर्न समेत आग्रह गरेको छ । साथै, सुरक्षित वैदेशिक रोजगारीबारे सचेतना फैलाउन सञ्चारमाध्यम र समुदायलाई सहयोग गर्न अपिल गरिएको छ ।