युनिग्लोब स्कुलको ५.२६ प्रतिशत लाभांश घोषणा, आईपीओ जारी गर्ने

काठमाडौं । युनिग्लोब हाइयर सेकेण्डरी स्कुल काठमाडौं लिमिटेडले लाभांश घोषणा गरेको छ । युनिग्लोब हाइयर सेकेण्डरी स्कुलको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

यस्तै, सञ्चालक समितिले सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले चैत २८ गते ग्लोबल कलेज, बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ भने चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । साथै, आव २०८१/८२ सम्म सञ्चालक समितिले गरेको काम कारवाही अनुमोदन गर्नेछ । 

कम्पनीको सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, नियमनकारी निकायबाट प्राप्त निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन गर्नु परे उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । 

सभाले अनुदान सम्बन्धी खर्च, सञ्चालकको बैठक भत्ता तथा सुविधा पारिच गर्नेछ । कम्पनीको अध्यक्ष डा। खगेन्द्र प्रसाद ओझा रहेका छन् भने कम्पनी सचिव रमेश दत्त पाण्डेय रहेका छन् । 

Share News