काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम ८ महिनामा ११ अर्ब ५८ करोड ६ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६.०६ प्रतिशत हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म १२ अर्ब ५ करोड ५८ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उनका अनुसार फागुन महिनामा मात्रै १ अर्ब ६५ करोड ८० लाख ४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११०.२६ प्रतिशत हो ।
चालु आवको ८ महिनामा भन्सार महसुल शीर्षकमा ४ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ, भन्सार महसुल निर्यात शीर्षकमा २२ करोड १७ लाख रुपैयाँ, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ६३ लाख ६४ हजार रुपैयाँ, निर्यात सेवा शुल्क शीर्षकमा ६ लाख २९ हजार रुपैयाँ, कृषि सुधार शुल्क शीर्षकमा १० करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा २९ करोड ४२ लाख २४ हजार रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा ३९ करोड २३ लाख ८४ हजार रुपैयाँ, पूर्वाधार कर शीर्षकमा १ अर्ब २२ करोड १२ लाख ८० हजार रुपैयाँ, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा १ लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा ४ अर्ब २० करोड १८ लाख ८७ हजार रुपैयाँ र हरित कर शीर्षकमा १३ करोड २३ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
कार्यालयले चालु आव २०८२/८३ का लागि कूल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।