नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन् ।

चुनावी परिणामअनुसार रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दा दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र प्राप्त गरेको छ ।

निर्वाचन परिणामपछि नै राजीनामाको तयारीमा रहेका थापालाई पार्टीभित्रका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव तथा दबाब दिएका थिए ।

थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए । उनले दिएको राजीनामाबारे पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ । बैठक शुक्रबारका लागि बोलाइएको छ ।

Share News