यी ६ प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्ने, यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू-भागमा आंशिक बादल रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही तथा बागमती र कोशी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 

Share News