काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको विशेष अवसर पारेर काठमाडौंस्थित क्यूएफएक्स छाया सेन्टरमा अस्ट्रियन फिल्म ‘मेहरुन्निसा’ को विशेष प्रदर्शन आयोजना गरिएको छ।
दिल्लीस्थित अस्ट्रियन दूतावास र नेपालका लागि अस्ट्रियाको मानद कन्सुलको संयोजन तथा महिला उद्यमी महासंघ नेपाल (एफडब्ल्यूईएएन) सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका करिब १५० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यो प्रदर्शन युरोपेली तथा अन्तर्राष्ट्रिय मामिलाका लागि अष्ट्रियाको संघीय मन्त्रालयको महिला अधिकार, समानता र सशक्तिकरणप्रतिको विश्वव्यापी प्रतिबद्धताको एक हिस्साको रूपमा आयोजना गरिएको हो ।
अस्ट्रियन सांस्कृतिक फोरमले यसै अवसरमा भारत, बंगलादेश, भुटान र श्रीलंकामा रहेका आफ्ना मानार्थ वाणिज्य दूतावासहरूसँग मिलेर दक्षिण एशियाका विभिन्न स्थानमा यो फिल्म प्रदर्शन गरिरहेको छ ।
सन्दीप कुमारद्वारा निर्देशित ९० मिनेट लामो यो ‘ड्रामा’ फिल्मले लखनउकी एक ८० वर्षीया विधवाको मार्मिक र साहसिक कथा प्रस्तुत गरेको छ ।
आफ्ना दिवंगत श्रीमानको सामाजिक प्रभावबाट मुक्त भई आफ्नै स्वतन्त्र पहिचान स्थापित गर्ने उनको निर्णयले पितृसत्तात्मक मान्यताहरूलाई कडा चुनौती दिएको छ । फिल्ममा भारतकी चर्चित चरित्र अभिनेत्री फारुख जाफरले ८८ वर्षको उमेरमा पहिलो पटक मुख्य भूमिकामा सशक्त अभिनय गरेकी छन् ।
चार दशकभन्दा लामो अभिनय यात्रामा ‘स्वदेश’, ‘सुल्तान’ र ‘सेक्रेट सुपरस्टार’ जस्ता फिल्महरूमा स्मरणीय भूमिका निर्वाह गरेकी जाफरले ‘मेहरुन्निसा’ मार्फत साहस र आत्मसम्मानको उदाहरण प्रस्तुत गरेकी छन् ।
भियनामा आधारित निर्देशक सन्दीप कुमारका सिर्जनाहरूले पहिचान, आप्रवासन र समानता जस्ता गम्भीर विषयहरूलाई उजागर गर्दै आएका छन् ।
भारतको अन्तर्राष्ट्रिय फिल्म महोत्सव (गोवा) मा प्रिमियर भएको ‘मेहरुन्निसा’ ले भ्यानकुभर, प्रिस्टिना र स्टटगार्ट जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रदर्शन भई प्रशंसा बटुलिसकेको छ । विशेष गरी स्टुटगार्ट फिल्म फेस्टिभलमा यसले उत्कृष्ट अभिनेत्रीको पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेको थियो ।
यस विशेष प्रदर्शनमार्फत महिला सशक्तीकरण र सामाजिक चेतनाको सन्देश प्रवाह हुनुका साथै अष्ट्रिया र दक्षिण एशियाली देशहरूबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने आयोजकहरूले विश्वास व्यक्त गरेका छन् ।