काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उनले अनुशासित, निष्ठावान एवं इमानदार भइ बोली बचनलाई आत्मसात गरी नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्न निर्देशन दिएका हुन् ।
उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको र यसले संगठनमा महत्त्वपूर्ण योगदान पुगेको बताए ।
धर्म र कर्म नै प्रहरी कार्य भएको उल्लेख गर्दै उनले आ-आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखी योजनावद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने पनि बताए ।
सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामद लगायतमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उनले निर्देशनसमेत दिए ।