प्रहरी वृत्त नयाँ बानेश्वरलाई सर्वोत्तम र जगदम्बा सिमेन्टले गरे विभिन्न सामग्री हस्तान्तरण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले काठमाडौंको तिनकुनेस्थित सुविधानगरमा भर्खरै निर्माण भएको नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई विभिन्न अत्यावश्यक कार्यालय सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेका छन् । 

कम्पनीका निर्देशकद्वय टीकाराम न्यौपाने तथा दिवस न्यौपानेले संयुक्त रूपमा प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलाई ती सामग्रीहरू हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका उपकरणहरू रहेका छन् ।

समाजप्रति उत्तरदायी रहँदै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्न र दैनिक प्रशासनिक कार्यलाई थप सहज बनाउन यी सामग्रीहरू प्रदान गरिएको कम्पनीले जनाएको छ । 

यस सहयोगले प्रहरी कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण मद्दत पुग्ने विश्वास दुवै कम्पनीले लिएका छन् । 

सर्वोत्तम र जगदम्बा सिमेन्टले विगतदेखि नै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन् र आगामी दिनहरूमा पनि यस्ता सकारात्मक पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्राविधिक रूपमा सबल सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो उद्योग हो, जसले ४३ र ५३ ग्रेडका ओपिसी र पिपिसी सिमेन्टहरू नेपालभर बिक्री गर्नुका साथै भारतमा समेत निर्यात गर्दै आएको छ । 

त्यस्तै, सन् २००१ मा स्थापित जगदम्बा सिमेन्टले पनि विश्वस्तरीय प्रविधि र उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरी ग्राहकहरूको माग र सन्तुष्टि पूरा गर्दै नेपालको सिमेन्ट बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।

Share News