काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार (आज) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार आएका थिए ।
उनीहरूबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्री कार्कीले भने, ‘तपाईंहरूले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’
उनले निर्वाचनमा विजय हुनुभएका नेताहरूलाई बधाई दिँदै अन्य नेताहरूलाई अर्कोपटकका लागि शुभकामना दिइन् ।
नेकपाका नेताहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिए ।
संयोजक प्रचण्डले भने, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’
सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उनले स्मरण गरे ।
‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौं । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौं,’ उनले भने ।
त्यस्तै, पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्रीमा सुशीला कार्की आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास आफूहरूलाई रहेको बताए ।
अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उनीहरूको भनाइ थियो।