कैलाली भन्सारले उठायो साढे ५ अर्ब राजस्व, लक्ष्यको ५५.६७ प्रतिशत मात्रै

काठमाडौं । कैलाली भन्सार कार्यालय धनगढीले ८ महिनाको अवधिमा ५ अर्ब ४० करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले भन्सार महसुलतर्फ २ अर्ब ८४ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ७ करोड ५९ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ १० करोड ५६ लाख रुपैयाँ र अन्यतर्फ १ अर्ब २१ करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार कार्यालयको चालु आर्थिक वर्षमा ९ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । ८ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५५.६७ प्रतिशत रहेको उनले जानकारी दिए । 

चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन । कार्यालयले साउनमा ७१ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख रुपैयाँ, भदौमा ७४ करोड २१ लाख रुपैयाँ लक्ष्य रहेकामा र५३ करोड ७० लाख रुपैयाँ, असोजमा ७६ करोड ७७ लाख रुपैयाँ लक्ष्य रहेकामा ६७ करोड ७८ लाख रुपैयाँ र कात्तिकमा ८४ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७२ करोड ५४ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए । 

यस्तै मङ्सिर महिनामा ७८ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा ६८ करोड ९१ लाख रुपैयाँ, पुसमा ८१ करोड २५ लाख रुपैयाँ लक्ष्य रहेकामा ७४ करोड ६५ लाख रुपैयाँ, माघमा ७६ करोड ९ लाख रुपैयाँ लक्ष्य रहेकामा ६८ करोड ८२ लाख रुपैयाँ र फागुन महिनामा ७७ करोड १४ लाख रुपैयाँ लक्ष्य रहेकामा ७६ करोड ४४ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकेको थिएन । गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले बताए । यो वार्षिक लक्ष्यको ७७.६७ प्रतिशत मात्रै हो ।

Share News