काठमाडौं । उज्यालो नेपाल पार्टीले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका प्रवक्ता डा. राजु थापा ले बिहीबार (चैत ३०) जारी गरेको प्रेस वक्तव्यमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगर्नु अनुचित भएको उल्लेख गरेका छन् ।
प्रेस वक्तव्यमा भनिएको छ, ‘यस्ता संवेदनशील घटनासँग सम्बन्धित प्रतिवेदन गोप्य राखिँदा नागरिकमा अन्योल, शंका र असन्तोष बढ्दै जानुका साथै राज्यप्रतिको विश्वास कमजोर हुने खतरा रहन्छ।’
पार्टीले पीडित, घाइते, मृतकका परिवार तथा आन्दोलनमा संलग्न नागरिकहरूले सत्य, न्याय र जवाफदेहिताको अपेक्षा गरिरहेको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गर्नु उचित नहुने स्पष्ट पारेको छ।
साथै, प्रतिवेदन सार्वजनिक गर्नु कसैलाई पूर्वाग्रही रूपमा दोषी ठहर गर्नु नभई सत्यतथ्यलाई जनतासामु ल्याएर निष्पक्ष प्रक्रिया अघि बढाउने प्रारम्भिक कदम भएको पनि पार्टीको भनाइ छ।