गण्डकीका १० जिल्ला अध्यक्षहरूले राखे एमालेमा माथिबाटै समीक्षा र पुनर्गठनको माग

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशका १० वटा जिल्ला अध्यक्षहरूले पार्टीको पछिल्लो अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै केन्द्रदेखि स्थानीय तहसम्म व्यापक समीक्षा र पुनर्गठन आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

फागुन २८ गते सम्पन्न भेलापछि सार्वजनिक गरिएको साझा धारणाअनुसार अध्यक्षहरूले पार्टीको वर्तमान राजनीतिक, संगठनात्मक तथा कार्यशैलीगत अवस्थाको वस्तुनिष्ठ समीक्षा अपरिहार्य भएको बताएका छन् । 

उनीहरूले यस्तो समीक्षा ढिलाइ नगरी केन्द्र तहबाटै सुरु गर्नुपर्नेमा जोड दिए ।

गण्डकीका अध्यक्षहरूको निष्कर्षमा पार्टी नेतृत्व र कार्यशैलीमा व्यापक रूपान्तरण आवश्यक देखिएको उल्लेख छ । ‘सबै तहको नेतृत्व र कार्यशैलीमा परिवर्तनसहित पुनर्गठन जरुरी छ, त्यसका लागि हामी तयार छौ,’ साझा धारणामा भनिएको छ ।

मनाङ अध्यक्षबाहेकका १० अध्यक्षहरूको भेलाले वामपन्थी, देशभक्त तथा राष्ट्रवादी शक्तिहरूबीच आत्मालोचनासहित संवाद र सहकार्यको वातावरण बनाउन पहल गर्नुपर्ने आवश्यकता समेत औंल्याएको छ । 

पछिल्लो राजनीतिक परिवेशमा समान विचारधाराका शक्तिहरूबीच सहकार्यको आधार कमजोर बन्दै गएको भन्दै त्यसलाई पुनः सुदृढ बनाउनुपर्ने अध्यक्षहरूको धारणा रहेको छ ।

उनीहरूले पार्टी, जनप्रतिनिधि र जनताबीचको सम्बन्धमा आएको दूरीप्रति पनि चिन्ता व्यक्त गरेका छन् । यस विषयमा गम्भीर समीक्षा गर्दै जनताको भावना र सामाजिक आवश्यकतामा केन्द्रित नयाँ कार्ययोजना निर्माण गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेपछि नेकपा एमालेभित्र पार्टी पुनर्गठनको माग जबरजस्त उठ्न थालेको छ । लुम्बिनी प्रदेशको तानसेन नगर कमिटीले नयाँ अधिवेशन जेठ ३ गते गर्नेगरी नगर कमिटी विघटन गरेको छ । तानसेन नगर कमिटी विघटन भएसँगै गण्डकी प्रदेशमा पनि पार्टी पुनर्गठनको बहस तीव्र हुन थालेको छ । 

मुस्ताङका जिल्ला अध्यक्ष दिपक लालचनका अनुसार केही दिन पहिले भएको भेला समग्र पार्टी पुनर्गठनको सुरुवात हो ।

भेलामा स्याङ्जा जिल्ला अध्यक्ष पारश गैरे सुरेश, पर्वत अध्यक्ष गोविन्द गिरी पहाडी, तनहुँ अध्यक्ष हरिराज कँडेल, मुस्ताङ अध्यक्ष दीपक लालचन, कास्की अध्यक्ष बैनबहादुर क्षेत्री र म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदीलगायतको सहभागिता रहेको थियो । 

Share News