काठमाडौं । पार्टीभित्र नेतृत्व पुनर्गठनको माग तीव्र बन्दै गइरहेका बेला नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी विघटन गरेको छ । नयाँ संरचना निर्माण र संगठन सुदृढीकरणको उद्देश्यसहित नगर कमिटी भंग गरिएको अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए।
आत्रेयका अनुसार निर्वाचन परिणामलगत्तै आफूले मात्रै राजीनामा दिने तयारी गरे पनि सिँगै कमिटीले आफूलाई साथ दिएपछि कमिटी नै विघटन गरिएको हो ।
उनले नगर कमिटी विघटनसँगै नयाँ कमिटी गठनका लागि आगामी जेठ ३ गते अधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिए । त्यस्तै, तीन महिनाभित्र सबै वडा कमिटीहरूले पनि अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको उनले बताए ।
‘एमालेले समयमै आफूलाई पुनर्ताजगीमा लाग्नुपर्ने समय आएको छ । त्यसैले यसको सुरुवात मैले गरेको हुँ,’ आत्रेयले भने ।
वर्तमान केन्द्रीय नेतृत्व परिवर्तन नभएसम्म पार्टी प्रभावकारी रूपमा अघि बढ्न नसक्ने निष्कर्षसहित यो कदम चालिएको हो ।
आत्रेयले नेतृत्व पुनर्गठनका लागि जिल्ला र केन्द्रीय कमिटीलाई दबाब सिर्जना गर्ने उद्देश्यले पनि नगर तथा वडा कमिटीहरू विघटन गरिएको स्पष्ट पारे ।