मेरो किसानले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई प्रविधिमार्फत आधुनिकीकरण गर्ने लक्ष्यका साथ सञ्चालित मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । 

सोमबार कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुवै कम्पनीबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मेरो किसानले किसानहरूसँग प्रत्यक्ष सहकार्य गरी कृषि बीउ-बिजन उत्पादन, संकलन, भण्डारण र वितरणको कार्य गर्दै आएको छ । 

कम्पनीले डिजिटल प्लेटफर्मको माध्यमबाट उत्पादित कृषि उपजहरू सिधै उपभोक्तासम्म पुर्याउने कार्यलाई प्राथमिकता दिँदै आएको छ । 

सेयर निष्कासनपश्चात् कम्पनी पूँजी बजारमार्फत सर्वसाधारणसँग जोडिने र यसले कृषि प्रधान देश नेपालको कृषि क्षेत्रमा थप लगानी र विस्तार गर्न ठूलो सहयोग पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

कम्पनीले आफ्नो व्यावसायिक योजनाअन्तर्गत चितवनको पटिहानीमा करिब ३.५ बिघा जग्गा खरिद गरी कृषि प्रशोधन केन्द्र र दूध डेरी निर्माणको कार्यलाई तीव्र गतिमा अगाडि बढाएको छ । 

हाल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै कृषि प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य छ । साथै आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आधुनिक दूध डेरी समेत सञ्चालन गर्ने तयारी भइरहेको छ ।

हस्ताक्षर कार्यक्रममा मेरो किसान लिमिटेडका तर्फबाट अध्यक्ष विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालकहरू सुनिल थापा र सन्तोष बस्नेतको उपस्थिति रहेको थियो । 

त्यस्तै, प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदीप हरि ढुंगानाको उपस्थिति रहेको थियो ।

Share News