काठमाडौं । नेपाली छिरेको आशंकामा काठमाडौंमा रहेका क्यासिनोमा प्रहरीले छापा मारेको छ । गएराति काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौंमा रहेका सबै क्यासिनोमा छापा मारेको हो ।
ठमेलको वाल्डो क्यासिनो, मेरियटमा रहेको डेल्टिन क्यासिनो, सोल्टी होटलमा रहेको माजुङ क्यासिनो, बेलिज क्यासिनो, क्यासिनो रोयल र बादशाह क्यासिनो प्रहरीले छापा मारेको थियो ।
काठमाडौं प्रहरी परिसरको नेतृत्त्वमा हरेक वृत्तबाट क्यासिनोको अनुगमन गर्न एक(एक जना प्रहरीहरू खटिएका थिए । प्रतिनिधि सभाको निर्वाचनपछि नेपालीहरू क्यासिनो छिरेको सूचना आएपछि प्रहरीले क्यासिनोमा छापा मारेको अनुगगमनमा एक प्रहरीले बताएका छन् । पछिल्लो समयमा नेपालीहरू क्यासिनो छिर्न थालेको गोप्य सूचना आएपछि प्रहरीले छापा मारेको ती प्रहरीले विकासन्युजलाई बताए ।
उनका अनुसार निर्वाचनपछि जिल्ला गएकाहरू काठमाडौं फर्केपछि चहलपहल बढ्न थालेको छ । निर्वाचनमा बाहिर निस्केका पैसाहरू नेपालीहरूले क्यासिनो खेल्न गएको शंकामा प्रहरीले क्यासिनोमा सक्रियता बढाएको हो ।
क्यासिनोमा नेपालीलाई प्रवेशको निषेध गरिएको छ । प्रहरीले समय(समयमा नेपालीहरूको प्रवेश गर्ने गरेको सूचना पाएपछि अनुगमन गर्ने गरेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले काठमाडौंमा रहेका सबै क्यासिनोमा अनुगमन गरिएको बताए ।
‘क्यासिनोमा प्रहरीको नियमित अनुगमन हुने गरेकाले गस्ती मात्र गरिएको हो,’ उनले भने । क्यासिनोभित्र कसैले पनि अवैध काम गरिएको नभेटिएको उनको भनाइ छ । कुनै पनि नेपालीलाई नियन्त्रणमा नलिएको उनले जानकारी दिए ।
क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिएको छ ।