काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार चैत ५ गते बिहान ११:३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ ।
राजनीतिक दलको तर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको छ । आयोगले राजनीतिक दलको तर्फबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण आज उपलब्ध गराइदिन आग्रह गरेको छ ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ६ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट पाएका छन् ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ ।