काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संसारभर छरिएर रहेका नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने र उनीहरूको अधिकार सुनिश्चित गर्ने अभियानमा संघ प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सन् २००३ मा स्थापना भएको यस संस्थाले दुई दशक लामो इतिहासमा अनेकौं उतारचढाव झेल्दै हाल ८० लाख नेपालीलाई आफ्नो नेटवर्कमा जोड्न सफल भएको उनले उल्लेख गरे ।
अध्यक्ष केसीका अनुसार हाल एनआरएनए विश्वका ९२ देशमा फैलिएको छ । नेपाल सरकारको उपस्थिति ४० देशमा मात्र सीमित रहे पनि एनआरएनएले ९२ वटै देशमा रहेका नेपालीहरूको प्रतिनिधित्व गरिरहेको छ ।
‘जसको शरीरमा नेपाली रगत बगिरहेको छ, उनीहरू सबैलाई गोलबन्द गर्नु नै हाम्रो मुख्य एजेन्डा हो,’ केसीले भने ।
विगतमा एउटा समितिले अर्कोलाई नटेर्ने जस्ता आन्तरिक विवादहरू देखिए तापनि अहिले संस्था पुनः एकजुट भएको उनको दाबी छ ।
भदौमा भएको ‘जेनजी’आन्दोलनको समयमा एनआरएनए भवन समेत सुरक्षित रहन नसकेको दुःखद स्मरण गर्दै उनले अबका दिनमा त्यस्ता अशान्तिका घटना दोहोरिन नहुनेमा जोड दिए ।
यसैबीच, मुलुकमा समयमै निर्वाचन सम्पन्न गरी शान्ति बहाली गरेकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई एनआरएनएले ‘राष्ट्र माता’ को रूपमा घोषणा गर्ने निर्णय गरेको छ ।
आगामी निर्वाचनमा गैरआवासीय नेपालीहरूलाई पनि मताधिकार दिनुपर्ने मागलाई केसीले प्रमुखताका साथ उठाएका छन् ।
यसपटकको निर्वाचनमा प्रयास गर्दागर्दै पनि प्राविधिक कारणले सम्भव नभएको बताउँदै उनले भने, ‘संविधान वा नागरिकता ऐन संशोधन गरेर भए पनि विदेशमा रहेका नेपालीलाई ‘नेपाली’ कै रूपमा बस्न पाउने वातावरण सुनिश्चित गरिनुपर्छ ।’
मध्यपूर्वमा बढ्दै गएको युद्धको डढेलोले त्यहाँ कार्यरत नेपालीहरूमा त्रास सिर्जना गरेको प्रति संघले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
अध्यक्ष केसीले जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन् ।
‘सरकारले उद्धारको प्रक्रिया अगाडि बढाओस्, एनआरएनए त्यसका लागि आवश्यक हरेक किसिमको सहयोग र समन्वय गर्न तयार छ,’ उनले प्रतिबद्धतासमेत जनाए ।
हाल विश्वभर करिब ८० लाख नेपालीहरू छरिएर रहेको र उनीहरूसँग नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को हाराहारीमा सम्पत्ति रहेको उल्लेख गर्दै उनले अब उक्त विशाल पुँजी र क्षमतालाई सिधै नेपालको विकाससँग जोड्ने काम एनआरएनएले गर्ने दावीसमेत गरे ।
विशेषगरी साना-साना लगानी भित्र्याउनका लागि कानुनी व्यवस्था सरल र सहज बनाइएमा वार्षिक रूपमा थप २ खर्ब रुपैयाँ नेपाल भित्र्याउन सकिने उनको दाबी छ।
देश विकासमा गैरआवासीय नेपालीहरूको भूमिका अपरिहार्य रहेको चर्चा गर्दै उनले अभियानलाई सफल पार्न सरकारले आवश्यक कानुनी र नीतिगत सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।
त्यसैगरी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत सफलताले जतिसुकै उचाइ छोए पनि देश समृद्ध हुन सकेन भने व्यक्ति सफल हुन नसक्ने बताए ।
देश बनाउने अभिप्रायले एनआरएनएको गठन भएपनि बीचमा मनोटोनस हुँदा केही समस्या आएको उनको भनाइ छ ।
एनआरएनएप्रति पहिला नेपालीले दिएको विश्वास अनि उत्साह फेरि दिन उनले आग्रह समेत गरे ।