काठमाडौं । अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच भेटघाट भएको छ । सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विभिन्न नियामक निकायका प्रमुखबीच छलफल भएको हो ।
अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेतको उपस्थिति रहेको उक्त भेटघाटमा नियामक निकायहरूको तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।
उक्त भेटघाटमा अर्थमन्त्री खनालले आफूलाई अर्थमन्त्रीको रूपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरूले खेलेको भूमिकाको प्रशंसा गरे ।
भेटघाटमा नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउँदै नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरेका छन् ।