काठमाडौं । सिटिजन्स बैंकले आफ्नो स्थापनाको १९औं वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा ‘दीर्घ सेवा सम्मान’ कार्यक्रम आयोजना गरेको छ ।
हरेक वर्ष चैत्र १ गतेलाई ‘कर्मचारी दिवस’ का रूपमा मनाउँदै आएको बैंकले यस वर्ष पनि सोही दिन पारेर बैंकमा १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित विशेष समारोहका बीच प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले १० वर्ष सेवा पूरा गरेका ४८ जना र १५ वर्ष सेवा पूरा गरेका १४ जना गरी कुल ६२ जना कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरे ।
विसं २०६४ वैशाख ७ गते ४३ जना कर्मचारीबाट बैंकिङ यात्रा सुरु गरेको यस बैंकमा हाल १ हजार ७ सय ६४ कर्मचारीहरू कार्यरत छन् भने हालसम्म ३५६ जना कर्मचारीले दीर्घ सेवा पदक प्राप्त गरिसकेका छन् ।
समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले कर्मचारीहरूलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई कार्यसम्पादन गर्न आग्रह गर्दै बैंकलाई नयाँ उचाइमा पुर्याउन शतप्रतिशत योगदान दिन आह्वान गरे।
‘बैंक अफ द इयर २०२४ र २०२५’ को प्रतिष्ठित उपाधि प्राप्त गर्न सफल यस बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवामा आफूलाई अब्बल सावित गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक ’सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल कार्ड) सञ्चालनमा ल्याउनुका साथै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘डिजी बैंक सेवा’, र फ्रिलान्सरहरूका लागि विशेष बचत खाता समेत सुरु गरिसकेको छ ।
हाल बैंकले देशभरका २०० शाखा, १६९ एटीएम र विभिन्न विस्तारित काउन्टरहरूमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी वैशाख ७ गते हुने मुख्य वार्षिकोत्सवको अवसरमा बैंकले महिनाभरि नै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।