गभर्नर पौडेलले सिकाए पैसाको महत्त्व, भने- पैसा भ्यालु स्टोर गर्ने माध्यम हो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जीवनमा जुनसुकै पेशा रोजेपनि पैसाको सदुपयोग गर्न आवश्यक रहेको बताएका छन् । सोमबार ग्लोबल मनी वीक–२०२६ को अवसरमा बोल्दै उनले डाक्टर, इन्जिनियर, प्लम्बर, इलेक्ट्रीसियन, शिक्षक जे बनेपनि मिहिनेत गरेर कमाएको पैसाको सदुपयोग कसरी गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताए । 

गभर्नर पौडेलले विद्यार्थीहरूलाई सानै उमेरदेखि पैसाको महत्व, बचत र खर्च व्यवस्थापनबारे बुझ्न आवश्यक रहेको बताए । पैसा भनेको मूल्य सुरक्षित राख्ने माध्यम (भ्यालु स्टोर) भएको उनको भनाइ छ । आज गरेको कामको मूल्य भविष्यमा केका रूपमा प्राप्त हुन्छ भन्ने कुरा पैसाले निर्धारण गर्ने उनले बताए ।

‘कुनै व्यक्तिले आज कसैका लागि काम गरेपछि त्यसको सट्टा प्राप्त गरेको पैसा प्रयोग गरेर अन्य ठाउँबाट आवश्यक सामान किन्न सक्छ । दूध, चिनी, चियापत्ती वा अन्य सेवासुविधा खरिद गर्ने प्रक्रिया पैसाको माध्यमबाट सम्भव हुने भएकाले यसको सही प्रयोगबारे बुझ्न आवश्यक छ,’ उनले भने, ‘आज तपाईंले गरेको कामको मूल्य भविष्यमा तपाईंले के पाउनुहुन्छ भन्ने पैसाले निर्धारण गर्छ र पैसा मिहिनेतको फल हो, त्यसैले यसलाई सदुपयोग गर्न र मिहिनेत गरेर कमाएको मूल्य सुरक्षित गर्न जान्नुपर्छ ।’

उनका अनुसार विगतमा ऋण तिर्न नसक्दा व्यक्ति जीवनभर अरूको लागि काम गर्न बाध्य हुन्थे । आजको समय फरक भए पनि पैसा सदुपयोग नगरेको खण्डमा नकारात्मक परिणाम हुन सक्ने उनले बताए । 

पौडेलले भने, ‘पैसासँग सम्बन्धित विषयहरू समयसँगै परिवर्तन हुँदै गएको छ । पहिले सुन, चाँदी र तामाका असर्फी चल्थे भने अहिले नोट र भविष्यमा भर्चुअल माध्यमबाट पैसा प्रयोग हुने सम्भावना छ । बैंकिङ सेवा र डिजिटल भुक्तानीको माध्यमबाट पैसा चलाउने, बचत गर्ने र खर्च गर्ने कुरा जान्न आवश्यक छ ।’

Share News