हनी ट्र्यापमा पार्ने १८ वर्षीया किशोरीसहित दुई जना पक्राउ

काठमाडौं । बलात्कारको मुद्दा लगाइदिन्छु भनी धम्की दिने दुई जना पक्राउ परेका छन् । आइतबार चितवनमा सामाजिक सञ्जालबाट चिनजान गरी धाकधम्की दिने तथा हनी ट्र्यापमा पार्ने कालिका नगरपालिका ७ की १८ वर्षीय एनी तामाङ र २५ वर्षीय विजय सुनार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार चितवन भरतपुर महानगरपालिका वडा नं ३ बस्ने वर्ष ४९ वर्षीय पुरुषलाई एनी तामाङ नामको फेसबुकबाट चिनजान हुन्छ । पीडितको चिनजान भई फोनमा समेत कुराकानी हुन्छ । एनीले पीडित पुरुषलाई गत फागुन २९ गते जुटपानीको मिठुचोकबाट गुम्बा जाने भित्री बाटोमा भेट्न बोलाउँछिन् ।

एनीले अन्य व्यक्ति बोलाई पीडितलाई कुटपिट गरी बा प्र ००४ प ५८८९ नम्बरको स्कुटर लुटपाट गरी फरार भएकी थिइन् । 

पीडितले आफ्नो स्कुटर फिर्ता माग्दा रकम माग गर्ने, रकम नदिए जवरजस्ती करणी कसूरमा मुद्दा हाली फसाई दिने भनी धाकधाम्की दिने गरेको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

उनीहरूलाई भरतपुर महानगरपालिका १० वीरेन्द्र क्याम्पस चोकबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

Share News