काठमाडौं । सिटिजन्स बैंकका संस्थापक सेयरधनी रविन्द्रमान सिंह प्रधानले बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने भएका छन् । सेयर बिक्रीसँगै उनी बैंकबाट बाहिरिने तयारीमा रहेका छन् ।
बैंकका अनुसार प्रधानले आफ्नो नाममा रहेको १४ लाख ४४ हजार ८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको प्रतिकित्ता मूल्य १०४ रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कुल करिब १५ करोड १ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ ।
बैंकको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार प्रधान सिटिजन्स बैंकका आठौं ठूलो सेयरधनी हुन् । उनको बैंकमा १.२८ प्रतिशत स्वामित्व रहेको छ।
बैंकका अनुसार उक्त संस्थापक सेयरमा प्रारम्भिक चरणमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि पनि बिक्री खुला गरिने बैंकले जनाएको छ ।