कांग्रेसका सबै पदाधिकारी संसद बाहिर

काठमाडौं । नयाँ प्रतिनिधिसभा गठनसँगै नेपाली कांग्रेसको संसदीय यात्रा असामान्य परिस्थितिमा पुगेको छ । 

देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसका कुनै पनि केन्द्रीय पदाधिकारी यसपटक प्रतिनिधिसभामा रहने छैनन् । सभापतिदेखि सहमहामन्त्रीसम्मका अधिकांश नेताहरू निर्वाचनमा पराजित भएका छन् । केहीले भने प्रतिस्पर्धामै भाग नलिएर संसदीय फोरमवाट पहिल्यै बाहिरिएका थिए । 

आगामी संसदमा कांग्रेसले अनुभवी संस्थागत नेतृत्वबिनै मुख्य विपक्षी दलको भूमिका निभाउनुपर्ने अवस्था बनेको छ ।

कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । पार्टीका प्रमुख नेता र सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चित उनी निर्वाचनमा पराजित भएपछि कांग्रेसको संसदीय नेतृत्व नै शून्यजस्तै बनेको छ ।

त्यस्तै, पार्टीका दुई उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल यसपटकको निर्वाचनमा प्रतिस्पर्धामै उत्रिएनन् । 

महामन्त्रीहरू प्रदीप पौडेल र गुरु घिमिरे पनि निर्वाचनमा जनताको अनुमोदन प्राप्त गर्न असफल भएका छन् । पार्टी संगठन सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्ने यी दुई नेता पनि संसद बाहिर रहँदा कांग्रेसको संसदीय अनुभवमा थप कमी देखिएको छ ।

कांग्रेसका अधिकांश सहमहामन्त्रीहरूले पनि निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन् । सहमहामन्त्री फरमुल्लाह मन्सुर र डिला संग्रौला निर्वाचनमा पराजित भएका छन् । त्यस्तै, सहमहामन्त्री कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदय शमशेर राणा, प्रकाश रसाइली र मुक्ताकुमारी यादव पनि निर्वाचनमा पराजित भएका छन् ।

सहमहामन्त्री बहादुर सिंह लामा भने बागमती प्रदेशसभाका सदस्य हुन् । उनी प्रदेश राजनीतिमा सक्रिय भए पनि संघीय संसदमा कांग्रेसको नेतृत्व तहको प्रतिनिधित्व उनीबाट हुन सक्दैन ।

Share News