एमालेका पावर सेन्टर प्रतिनिधिसभा बाहिर : २० शीर्ष नेतामध्ये १२ पराजित, २ समानुपातिकबाट संसदमा

काठमाडौं । आम निर्वाचन २०८२ को परिणामले नेकपा एमालेका शीर्ष नेतृत्वलाई ठूलो धक्का दिएको छ ।

पार्टीभित्रका पावर सेन्टर मानिने २० प्रभावशाली नेतामध्ये १२ जना प्रत्यक्ष निर्वाचनमा पराजित भई प्रतिनिधिसभाबाट बाहिरिएका छन् ।

प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका अध्यक्षदेखि सचिवसम्मका अधिकांश शीर्ष नेता निर्वाचन हार्दै संघीय संसदमा पुग्न असफल भएका हुन् ।

प्रत्यक्षतर्फ पराजित हुने नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२ र उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ रहेका छन् ।

यस्तै महासचिव शंकर पोखरेल दाङ–२, उपमहासचिव लेखराज भट्ट कैलाली–४ र उपमहासचिव रघुवीर महासेठ धनुषा–४ पनि निर्वाचनमा पराजित भएका छन् ।

पार्टीका सचिवहरू भानुभक्त ढकाल तेह्रथुम, शेरधन राई भोजपुर, महेश बस्नेत भक्तपुर–२ र राजन भट्टराई काठमाडौं – ४ पनि प्रत्यक्ष निर्वाचनमा हार बेहोर्दै प्रतिनिधिसभावाट बाहिरिएका छन् ।

त्यसैगरी, अध्यक्ष पदका आकांक्षीसमेत रहेका नेता ईश्वर पोखरेल पनि काठमाडौं–५ बाट पराजित भएका छन् । यद्यपि एमालेका दुई पदाधिकारी भने समानुपातिक सूचीमार्फत प्रतिनिधिसभामा पुगेका छन् । उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्माकुमारी अर्याल समानुपातिकतर्फबाट सांसद बन्ने भएका हुन् ।

यसैबीच एमालेका तीन प्रभावशाली नेता प्रदेश राजनीतिमा सक्रिय छन् । सचिव यामलाल कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री छन् भने सचिव हिक्मतकुमार कार्की कोशी प्रदेशका मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । यसैगरी सचिव खगराज अधिकारी गण्डकी प्रदेशसभाका सदस्यका रूपमा सक्रिय रहेका छन् ।

उता पार्टीका तीन वरिष्ठ नेता भने यसपटकको प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामै उत्रिएनन् । उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र सचिव छविलाल विश्वकर्मा चुनावी मैदानमा नउत्रिएसँगै उनीहरू संघीय संसदको दौडबाट बाहिरिएका थिए ।

Share News