काठमाडौं । प्यालेस्टिनीहरूलाई समर्थन र इजरायली कदमहरूको निन्दा व्यक्त गर्ने वार्षिक कार्यक्रम अन्तर्राष्ट्रिय कुड्स दिवस मनाउन इरानभरका मानिसहरू सडकमा उत्रिएका छन् । सन् १९७९ मा इरानद्वारा स्थापित यो कार्यक्रम रमजानको उपवास महिनाको अन्तिम शुक्रवार मनाइन्छ ।
यस वर्ष यो मार्च १३ मा र इरानमाथि जारी अमेरिका–इजरायली हवाई आक्रमणका बीच परेको छ । राजधानीमा मानिसहरूले इरानको झण्डा फहराउँदै र इरानका दिवंगत सर्वोच्च नेता अली खामेनी र उनका उत्तराधिकारी मोज्ताबा खामेनीका तस्विरहरू बोकेर १० फरक स्थानबाट मध्य तेहरानको प्रसिद्ध एंगलाब स्क्वायरतर्फ मार्च गरे।
प्रदर्शनकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले गरेका अपराधहरूको निन्दा गरे । इरानी सशस्त्र बलप्रति आफ्नो समर्थन व्यक्त गरे र नयाँ सर्वोच्च नेताप्रति निष्ठाको प्रतिवद्धता जनाए ।
तेहरानमा आयोजित र्यालीमा राष्ट्रपति मसुद पेजेस्कियान, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानी, न्यायपालिका प्रमुख गुलामहोसेन मोहसेनी–इजेईका साथै परराष्ट्रमन्त्री सैयद अब्बास अराघची जस्ता मन्त्रीपरिषद्का सदस्यहरू लगायत धेरै उच्च पदस्थ इरानी अधिकारीहरूले पनि भाग लिएका थिए ।
आधिकारिक समाचार एजेन्सी इर्नाकाअनुसार र्याली सुरु भएको केही मिनेटमै ¥याली मार्ग नजिकैको तेहरानको मध्य क्षेत्रमा अमेरिका र इजरायलले हवाई आक्रमण गरेका थिए । जसमा परी एक जनाको मृत्यु भएको छ ।
फेब्रुअरी २८ मा, इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण गरेका थिए । जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीका साथै वरिष्ठ सैन्य कमान्डर र सर्वसाधारणको मृत्यु भएको थियो । इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरू र संयन्त्रहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणहरूको लहर शुरु गरेर यसको जवाफ दिएको थियो ।