काठमाडौं । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका-३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको सो माइक्रोमा मनकामना दर्शन गर्न आएका तीर्थयात्रीसहित १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उद्धार गरेर आँबुखैरेनी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । मृतकहरू सबै भारतीय रहेको प्रहरीले बताएको छ ।
चालक र सहचालक बाहेक सबै भारतीय नागरिक नै मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउनै बाँकी छ ।