धुलिखेल-खावा सडकखण्ड दुई साता राति बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल-खावा सडकखण्डमा कालोपत्रे गर्ने कामका कारण दुई सातासम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै सडक सुधार तथा कालोपत्रे कार्यलाई तीव्र बनाउन चैत ७ गतेदेखि चैत २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमनमा प्रतिबन्ध लगाइने जनाएको हो।

कार्यालयका अनुसार यो अवधिमा ठूला चारपाङ्ग्रे सवारीसाधन (बससमेत) लाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइनेछ।

त्यस्तै, टिपर तथा ट्रकहरू (पास लिएका समेत) लाई भने २४ घण्टै सञ्चालन गर्न नदिइने सूचनामा उल्लेख गरिएको छ।

सडक निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न र सवारी आवागमनका कारण हुने अवरोध कम गर्न यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकलाई यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि आवश्यक जानकारी लिन अनुरोध गरेको छ।

null

Share News