काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय तथा अस्पतालका क्यान्टिनमा खाद्य स्वच्छता सुनिश्चित गर्न अनुगमन र क्षमता विकास कार्यक्रमलाई सँगै अघि बढाएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महानगरले खाद्य व्यवसायीलाई तालिम दिने र नियमित अनुगमन गर्ने अभियान तीव्र बनाएको जनाएको छ ।
कामपाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालय र अस्पतालका क्यान्टिनहरूमा निरन्तर अनुगमन गरिरहेको छ ।
अहिलेसम्म पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलको जानकी किचेन क्यान्टिन तथा दिवा खाजा बनाउने भान्छा, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको ‘नमो फुड कोड’ क्यान्टिन, रत्नराज्य स्कुल बानेश्वरको क्यान्टिन, केएमसी अस्पताल सिनामंगलस्थित ‘ग्रीन बड्स बेकरी क्याफे’ क्यान्टिन तथा भरोसा अस्पताल बानेश्वरको ‘सुदूरपश्चिम भोजनालय एण्ड खाजा घर’ लगायतका स्थानमा अनुगमन गरिएको महानगरले जनाएको छ।
बालबालिकाको स्वास्थ्य र पोषण सुधारलाई प्राथमिकतामा राख्दै महानगरपालिकाले सामुदायिक विद्यालयका २३ जना मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता तथा पोषणसम्बन्धी तालिम पनि प्रदान गरिसकेको छ । तालिममा खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित खाना ह्यान्डलिङ, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन तथा रोग रोकथाममा स्कुल नर्सको भूमिका जस्ता विषय समेटिएका थिए ।
नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ देखि प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म र २०७९/८० देखि कक्षा ६ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। काठमाडौं महानगरपालिकाले भने कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ ।
अनुगमनका क्रममा अखाद्य वस्तुको प्रयोग भएको पाइएमा सम्बन्धित व्यक्तिको उपस्थितिमा त्यस्ता सामग्री नष्ट गरिएको महानगरले जनाएको छ । साथै सुधारका लागि आवश्यक सुझाव पनि दिइएको छ ।
महानगरका अनुसार धेरै विद्यालय क्यान्टिनमा सरसफाइमा लापरबाही देखिएको छ। कपडा र खाद्य सामग्री सँगै राख्ने, खाना नछोपी राख्ने, फोहोर फाल्ने डस्टबिनको उचित प्रयोग नगर्ने, किचेनको संरचनागत सुधार नगरेको जस्ता समस्या भेटिएका छन् ।
यस्तै, क्यान्टिनमा प्रयोग गरिएको फ्राइड तेलको टीपीएम भ्यालु मापदण्डविपरीत पाइएको, किचेनको भुइँ व्यवस्थापन र सरसफाइमा ध्यान नदिएको, खाना बनाउने र भाँडा माझ्ने काम एउटै ठाउँमा गरिएको तथा आगो सुरक्षासम्बन्धी उपकरणको व्यवस्था नदेखिएको समेत अनुगमन टोलीले जनाएको छ ।
महानगरले यस्ता कमजोरी सुधार गर्न क्यान्टिन सञ्चालकलाई सचेत गराउँदै आगामी दिनमा थप कडाइका साथ अनुगमन गर्ने जनाएको छ ।