‘आधा सिलिन्डर’ ग्यासले टार्ला त संकट ?

अनावश्यक रूपमा सिलिन्डर होल्ड गरिदिँदा विपन्न वर्ग र विद्यार्थीहरू समस्यामा

काठमाडौं । बजारमा खाना पकाउने ग्यास (एलपीजी) को माग अनुसारकै आपूर्ति हुँदा पनि कृत्रिम अभाव र हाहाकार नघटेपछि नेपाल आयल निगमले नयाँ रणनीति अपनाएको छ । निगमले बजारमा हुने होल्डिङलाई निरुत्साहित गर्न र सर्वसाधारणको पहुँच बढाउन अब ७.१ केजी तौल भएको ‘आधा सिलिन्डर’ मात्रै बजारमा पठाउने निर्णय गरेको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा ग्यासको आपूर्ति पर्याप्त भए पनि हुनेखाने वर्ग, होटल र रेस्टुरेन्टहरूले अनावश्यक रूपमा सिलिन्डर होल्ड गरिदिँदा विपन्न वर्ग र विद्यार्थीहरू समस्यामा परेको जानकारी दिए । मन्त्रालयस्तरमा भएको छलफलपछि यो समस्या समाधानका लागि विगतकै अभ्यासलाई पछ्याउँदै आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय गरिएको हो ।

प्रवक्ता ठाकुरले आधा सिलिन्डरको अवधारणाले दुईवटा मुख्य फाइदा पुग्ने बताउँछन् । पहिलो, यसले ठूला उपभोक्तालाई ग्यास होल्ड गर्ने प्रवृत्तिबाट रोक्नेछ । दोस्रो, ग्यासको कभरेज क्षेत्र दोब्बर हुनेछ । 

‘जहाँ पहिले १००० वटा पूरा सिलिन्डर जान्थ्यो, अब त्यहाँ २००० वटा आधा सिलिन्डर पुग्नेछ,’ ठाकुरले भने, ‘यसबाट धेरैभन्दा धेरै उपभोक्ताले सहजै ग्यास पाउने सुनिश्चित हुनेछ ।’

निगमले आधा सिलिन्डर (७.१ केजी) ग्यासको मूल्य ९५५ रुपैयाँ तोकेको छ । यो मूल्य ग्यास उद्योगदेखि ५० किलोमिटरको परिधिभित्र लागू हुनेछ । यसअघि १४.२ केजीको पूर्ण सिलिन्डरको मूल्य १९१० रुपैयाँ रहेकोमा त्यसकै आधा मूल्य कायम गरिएको प्रवक्ता ठाकुरले जानकारी दिए ।

यो व्यवस्था अर्को निर्णय नभएसम्मका लागि तत्कालै लागू गरिएको छ । मध्यपूर्वको तनावले  भारतबाट हुने आयातको अवस्थालाई निगमले दैनिक रूपमा मूल्यांकन गरिरहेको छ । यदि आपूर्ति व्यवस्था सहज भयो र बजारमा होल्डिङको समस्या हटेको पाइएमा पुनः पूर्ण सिलिन्डरकै व्यवस्थामा फर्किने संकेत निगमले गरेको छ ।

यस्तै, ग्यास उद्योगी शिव घिमिरेले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् । आयातको अवस्था सामान्य रहे पनि बजारमा माग अस्वाभाविक रूपमा बढेकाले केही समस्या देखिएको उनको भनाइ छ ।

बजारमा देखिएको ग्यासको लुकामारी र अभावलाई कम गर्न सरकार र उद्योगीहरूको सहमतिमा ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास बजारमा पठाइएको घिमिरेले जानकारी दिए ।

‘एउटा घरमा पुग्ने ग्यासले अब दुई घरमा काम चल्ने गरी आधा सिलिन्डर वितरण सुरु भइसकेको छ,’ घिमिरेले भने, ‘यसले धेरै भन्दा धेरै उपभोक्ताको भान्सामा ग्यास पुर्याउन मद्दत गर्नेछ । ’

घिमिरेका अनुसार नेपालमा ग्यासको आयात विगतको तुलनामा घटेको छैन । तर, विश्वव्यापी परिस्थिति र युद्धको त्रासका कारण उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास सञ्चय (होल्डिङ) गर्न खोज्दा बजारमा अभाव देखिएको हो ।

‘नर्मल अवस्थाको तुलनामा आयात घटेको छैन, तर डिमाण्ड हाई भएकोले मात्र यो पर्याप्त नदेखिएको हो,’ उनले भने । 

स्टकको अवस्था कस्तो छ ?

उद्योगहरूमा ग्यासको स्टक नरहने तर आयात र वितरणको चक्र निरन्तर चलिरहने घिमिरेले बताए । ‘ग्यास उद्योगमा स्टक बस्ने कुरा हुँदैन । आज आयो, आजै सकिन्छ; भोलि आयो, भोलि नै सकिन्छ । अहिले स्टक जिरो हुने अवस्था छ किनभने माग धेरै छ,’ घिमिरेले भने । 

भारतीय बजारबाट हुने आयात ठप्प नभएको र नियमित रूपमा आइरहेकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उनको दाबी छ । इरान, इजरायल र अमेरिकाको युद्ध कहिलेसम्म लम्बिन्छ भन्ने कुरा अनिश्चित रहे पनि हालको आयातको गति र आधा सिलिन्डर वितरणको रणनीतिले आगामी दिनमा ठूलो समस्या नआउने उनले विश्वास व्यक्त गरे । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले केही असर परे पनि नेपालमा ग्यासको आपूर्ति प्रणालीलाई मजबुत बनाउन उद्योगीहरू लागिपरेको उनले बताए । 

आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार नेपालमा वार्षिक ५ लाख ५३ हजार २५४ मेट्रिक टन ग्यास आयात भएको छ । यसलाई मासिक हिसाब गर्दा औसतमा ४६ हजार १०४ मेट्रिक टन हुन आउँछ । जुन गत वर्षको तुलनामा बढेको हो । निगमले उपलब्ध गराएको तथ्यांक अनुसार विगत पाँच वर्षदेखि ग्यासको खपत निरन्तर बढिरहेको देखिन्छ । 

Share News