काठमाडौं । ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।
यसैगरी, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आव २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण र आर्थिक वर्ष २०८२र८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ ।
सभामा अध्यक्ष हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदनको संक्षेप प्रस्तुत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल ढकालले बैंकले समीक्षाधीन अवधिमा हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सेयरधनीहरूले राखेका जिज्ञासा र सुझावहरूको उत्तर अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुवैले दिएका थिए । बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको दाबी गरेको छ।
विशेषगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित रहँदै बैंकले ७० वटा न्यानो नानी मेसिनमार्फत हरेक वर्ष २ हजार ५९० भन्दा बढी नेपाली शिशुहरूको जीवन रक्षा गर्न सफल भएको जानकारी गराइएको छ ।
राष्ट्रप्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले गत आर्थिक वर्षमा मात्रै राज्यलाई ४१ करोड रुपैयाँ कर योगदान गरेको छ। हाल ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले देशभर रहेका ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
सभामा बैंकका सेयरधनीहरू, सञ्चालक समितिका सदस्यहरू, पूर्व सञ्चालकहरू, विभिन्न पदाधिकारीहरू र कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।