काठमाडौं । नेपाल फर्मा एक्स्पो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)को मुख्य आयोजनामा सुरु भएको एक्स्पोमा पहिलो दिन धेरै मान्छेको भिड थियो । फर्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि भन्ने नाराका साथ सुरु भएको एक्स्पोमा नेपाली तथा विदेशी औषधि उद्योगका स्टल रहेका छन् । नेपाली औषधि उद्योगले कस्तो प्रविधि प्रयोग गरि औषधि उत्पादन गरिरहेको छ र विश्व बजारमा कस्ता नयाँ प्रविधि आएको छ भन्नेबारे जानकारी गराउने र लिने काम एक्स्पोमा भइरहेको छ ।
एक्स्पोमा ९० प्रतिशत सहभागिता विदेशी तथा बहु राष्ट्रिय कम्पनीहरूको रहेको छ भने १० प्रतिशत स्वदेशी स्टल छन् । जहाँ विश्व बजारमा आएका नवीनतम् कच्चा पदार्थ प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरी प्रदर्शनी गरिरहेका छन् । हामीले एक्स्पोमा सहभागी भएका कम्पनीसँग कुराकानी गरेर यो सामग्री तयार गरेका छौं ।
म्याग्नस फर्मा
नेपाल फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले आफूले उत्पादन गरेका औषधि नेपाल फर्मा एक्स्पोमा २०२६ मा प्रदर्शनी गरिरहेको छ । बिहीबार पहिलो दिन म्याग्नस फर्माले प्रदर्शनमा सहभागी विज्ञ र सर्वसाधारणलाई कम्पनीले उत्पादन गरेका औषधिका विषयमा जानकारी गराउने काम गर्यो ।
म्याग्नसका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के नेपालका औषधि उद्योगहरूले नेपालको औषधि क्षेत्रलाई प्रयोग गरेर धेरै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई पनि टेवा गर्न सक्नुपर्ने बताउँछन् । उनी अहिले धेरै खाली ठाउँ रहेको भन्दै अब सबै सरोकारवालाले खुला दिमाग प्रयोग गरी लाग्ने हो भने नेपाललाई औषधिमा निर्भर बनाउनुका साथै रोजगारीका अवसर सिर्जना गर्न सकिने सुनाउँछन् ।
सुधीर प्रकाश मास्के
नेपालमा औषधि उद्योगले प्रविधि र औषधिका क्षेत्रमा दक्ष व्यक्तिलाई रोजगारी दिइरहेको दाबी गर्दै दक्ष जनशक्तिलाई नेपालमै रोक्न सफल भएको बताए । उनी यसका लागि बजारलाई बिस्तार गर्ने नीति भए अझै काम गर्न सहज हुने बताउँछन् । ‘व्यवसायीको लागि मात्र होइन, देशको अर्थतन्त्रको लागि माथि उठाउनुपर्ने गरी हामी लाग्नुपर्छ,’ उनले भने ।
म्याग्नस फर्मा दुई सय बढी प्रकारका औषधि उत्पादन गरिरहेको छ । यसले उत्पादन गरेको औषधि नेपाली बजारमा मात्र नभइ भनेजुयला, एकदुई अफ्रिकी देशमा निर्यात सुरु गरेको र यसका लागि आवश्यक पूर्वाधार पनि तयार गरिरहेको छ । उनी नेपालमा राम्रो औषधि बनाएर विदेशी बजारमा पनि नेपाली औषधि पुर्याउने उद्देश्य यो कम्पनीले राखेको बताउँछन् ।
यो औषधि उद्योगले हाल प्रत्यक्ष रुपमा चार सय जनालाई रोजगार दिइरहेको छ भने अप्रत्यक्ष रूपमा दुई सय बढीलाई रोजगारी दिएको छ । यो फर्माले गत आर्थिक वर्ष १ सय २५ करोड कारोबार गरेको जानकारी दिएको छ ।
नेशनल हेल्थ केयर
नेपाली औषधि क्षेत्रमा राम्रो काम गर्दै आएको अर्को औषधि फर्मा हो नेशनल हेल्थ केयर । नेशनल हेल्थ केयरका मार्केटिङ तथा उपाध्यक्ष अजय पाण्डे यो एक्स्पो नेपाली औषधि उद्योगका लागि एउटा ठूलो उत्सव जस्तै रहेको बताउँछन् । उनी नेपाल भित्रका औषधि र बाहिरका कम्पनीले प्रयोग गरिरहेको प्रविधिका विषयमा हेर्ने, बुझ्ने अवसर भएकाले ठूलो उत्सव जस्तै भएको बताउँछन् ।
पाण्डेका अनुसार नेशनल हेल्थ केयरले हाल बजारमा इन्जेक्सन बाहेक ३ सय २५ प्रकारका औषधिहरू उत्पादन गरेर बजारीकरण गरिरहेको छ । यसले उत्पादन गरेका औषधि विभिन्न चार देशमा निर्यात गरिरहेको छ ।
नेशनल हेल्थ केयरले एक हजार जनालाई फ्याक्ट्रीमा रोजगार दिएको छ भने करिब चार सय जना मार्केट र सेल्समा काम गरिरहेका छन् । अप्रत्यक्ष रूपमा अझ बढी रोजगारी पाएका छन् । कम्पनीको साढे ३ अर्ब कारोबार रहेको उनले बताए ।
अजय पाण्डे
उनी भन्छन्, ‘यो भनेको एक अर्कालाई हेर्दै राम्रो गर्ने ठाउँ हो, यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी भएकाले सिक्ने र अगाडि बढ्ने मौकाको रूपमा पनि यसलाई लिएका छौं ।’
एशियन फर्मास्युटिकल्स
एशियन फर्मास्युटिकल्सका कार्यकारी निर्देशक शंकर घिमिरे एक्स्पो नेपाली औषधि उद्योगीहरूका लागि एक किसिमको सिकाइ जस्तै रहेको बताउँछन् । उनी यो सँगै आफूले बनाउँदै आएको औषधि यसरी बन्छ भनेर जनमानसलाई देखाउने र बुझाउन पाउने अवसर रहेको बताए ।
‘नागरिकले अस्पताल जाने चिकित्सकले लेखिदिएको औषधि किन्ने र खाने काम मात्र गरिरहेका छन्, यो एक्स्पोमा उहाँहरूले औषधि कसरी बन्छन्, कसरी प्याकिङ गरिन्छ र यसको उपयोग कसरी गर्ने भन्ने समेत थाहा पाउँछन् हामीले आम नागरिकलाई यो बारेमा सिकाइरहेका छौं,’ उनले भने ।
व्यापार भनेको प्रतिस्पर्धा हो । कुन व्यवसायीले कस्तो प्रविधि ल्याएर राखिरहेको हुन्छन्, थाहा हुँदैन, यो एक्स्पोबाट त्यस्ता कुरा जान्ने मौका पनि हो । तर, पढ्दै गरेका फर्मासिस्ट, आम नागरिकका लागि पनि सिकाइ हो ।
घिमिरे औषधिमा केही समस्या आउने बित्तिकै नक्कली औषधि भन्ने शीर्षकमा समाचार मात्र आउने गरेका बताउँदै अन्य देशमा यसरी सामान्य गल्ती हुँदा यस्तो चर्चा हुने नगरेको बताउँछन् ।
शंकर घिमिरे
एशियनले २ सय बढी औषधिहरू उत्पादन गरिरहेको छ । उनले उत्पादन गरेको औषधि विदेशमा निर्यात गर्न नसकेको बताए । उनी विदेशमा औषधि निर्यातको लागि सरकारको ल्याब नै स्ट्यान्डरको हुनुपर्ने बताए । उनी भन्छन्, ‘अहिले हिजो अस्तिदेखि कुरा उठिरहेको छ, हामी कहाँ सरकारी ल्याब नै स्ट्याण्डरको छैन, यसै कारण हाम्रो देशको पानी समेत खान डराउनेले हामीले उत्पादन गरेको औषधि कसरी खान्छ ? जबसम्म सरकारले हाम्रो गुणस्तर राम्रो छ भन्ने विश्वास दिलाउन सक्दैन तबसम्म हाम्रो औषधि निर्यातमा यस्तै हुन्छ ।’
उनी यो कुरामा स्वास्थ्य मन्त्रीले नै स्वीकार गरिसकेकाले अब बन्ने सरकारले यस्ता समस्या समाधान गर्ने आशा व्यक्त गरे । हामी आफैले खाइरहेका औषधि गुणस्तरको भएपनि हाम्रा सरकारी ल्याबका कारण बाहिरका देशले खान डराइरहेको उनको भनाइ छ । विदेशले औषधि आयात गर्दा सरकारको ल्याब स्ट्याडर हेर्ने भएकाले यो समस्या भएको बताए ।
एसियनले पाँच सय जनालाई रोजगार दिइरहेको बताए । यो कम्पनीले नयाँ–नयाँ मोल्युकलमा अध्ययन गरिरहेको बताए । यो कम्पनीले गत वर्ष ४ अर्बको आम्दानी गरेको बताए ।
टाइम फर्मास्युटिकल्स
टाइम फर्मास्युटिकल्सका कार्यकारी अध्यक्ष डा. नारायण बहादुर क्षेत्रीले औषधि उत्पादन क्षेत्रमा प्रविधि निकै अगाडि गइसकेकाले आफूहरूका लागि सिकाइको अवसर भएको बताए । ‘औषधि भनेको सामान्य कुरा होइन, व्यक्तिको जीवन जोगाउने चिज हो, हामीले उत्पादन गर्ने एउटा गोलीले ज्यान बचाउने भएकाले संवेदनशील भएर उत्पादन गर्नुपर्ने हुन्छ । औषधि उत्पादन गर्दा कम्पनीले कस्ता प्रविधि प्रयोग गर्छ र कस्ता सामाग्री उपकरण प्रयोगमा ल्याउँछ भन्नेबारे आम मान्छेलाई बुझाउने अवसर छ,’ उनले भने ।
टाइमले नेपालमा आवश्यक पर्ने भ्याक्सिन बाहेक करिब तीन सय प्रकारका औषधि उत्पादन गर्दै आएको छ । टाइमले ३ सय ५० बढीलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ । यस कम्पनीले वार्षिक कारोबार एक अर्ब बढीको कारोबार गर्दै आएको छ । कम्पनीले दुई देशमा औषधि निर्यात गरिरहेको छ ।
डा. नारायण बहादुर क्षेत्री
उनी स्थानीय उद्योगलाई संरक्षण नहुँदा काम गर्न समस्या भएको बताए । उनी भन्छन्, ‘हामीले उत्पादन गरिरहेका औषधि आयातमा मात्र प्रतिबन्ध गरिदिएको भए हामीलाई धेरै राहत हुन्थ्यो, तर तिनै औषधि विदेशबाट आइरहेका छन्, जसले गर्दा गाह्रो भयो ।’ उनी अब नयाँ बन्ने सरकारले यस्ता विषयमा काम गर्ने आशा व्यक्त गर्छन् ।
नेपाल फर्मास्युटिकल्स
नेपाल फर्मास्युटिकल्सका बजार निर्देशक महेश गोर्खाली औषधि क्षेत्रमा भएको विकास बारे जानकारी पाउने अवसर रहेको बताए । कम्पनीले ४० वर्षदेखि औषधि उद्योगमा काम गर्दै आएको छ ।
यस बीचमा यो कम्पनीले पनि धेरै औषधि उत्पादन गर्यो । सुरुवातमा ट्याबलेट, क्याप्सुल मात्र उत्पादन गरेको कम्पनीले अहिले ३०० प्रकारका औषधि उत्पादन गरिरहेको छ । उनी यो एक्स्पोबाट आफूले उत्पादन गरेका औषधि प्रदर्शन गर्ने अवसर एक्स्पोले दिएको बताए ।
महेश गोर्खाली
समयकाल परिवर्तनअनुसार अन्तर्राष्ट्रिय जगतमा औषधिको क्षेत्रमा तीव्र विकास भइरहेको छ, त्यही अनुसार नेपाली औषधिले पनि आफूलाई समय सापेक्षअनुसार आफूलाई ढाल्न सकेको छ कि छैन भन्नेबारे पनि एक्स्पोबाट जान्ने अवसर हुन्छ ।
उनी यो एक्स्पोबाट नागरिकले धेरै चासोका साथ लिइरहेको बताए । नेपालकै पहिलो कम्पनीका रुपमा उत्पादन गरेका औषधि भारत निर्यात गरेको थियो । तर विभिन्न नीति नियमले निर्यात रोक्नुपरेको बताए । उनले अब फेरि निर्यातका लागि कम्पनीले योजना बनाइरहेको बताए ।
नियमनकारी निकाय औषधि व्यवस्था विभागले गर्ने ढिला सुस्तीले उद्योगीलाई काम गर्न थप चुनौती रहेको सुनाए । उनी अबको सरकारले यस्ता झण्झटिला विषयमा हेर्नुपर्ने बताउँछन् ।
यो कम्पनीले ७ सय बढी व्यक्तिलाई रोजगारी दिएको छ भने वार्षिक तीन अर्बको कारोबार गरिरहेको छ ।
विप्लव अधिकारी
औषधि उत्पादक संघ अध्यक्ष विप्लव अधिकारीले एक्स्पोको पहिलो दिन धेरै व्यक्तिले भिजिट गरेको बताए । औषधि क्षेत्रका औषधि सम्बन्धित व्यक्ति तथा सर्वसाधारण नागरिकले एक्स्पोको अवलोकन गरेको बताए । यो एक्स्पो व्यावसायिक रुपमा आयोजना नगरि औषधिका विषयमा बुझाउनको लागि आयोजना गरेकाले औषधिको संवेदनशीलतालाई जानकारी दिन आयोजना गरेको बताए ।
औषधि उत्पादन गर्न कति सहज छ, यसका लागि कस्ता कच्चा पदार्थ आवश्यक पर्छ र यसका लागि कस्ता प्रविधि आवश्यक पर्छन् भन्ने विषमा एक्स्पोमा सहभागीहरू जान्ने बुझ्ने अवसर पाइरहेका छन् ।