काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) मा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ । नाडाको नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गर्दै पद तथा गोपनीयताको सपथ लिएका छन् ।
फागुन २८ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई विधिवत रूपमा पदभार हस्तान्तरण गरेका थिए । सो अवसरमा चौधरीले उप्रेतीलाई सफल कार्यकालको शुभकामना दिँदै नाडाको संस्थागत विकास र अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
पदभार ग्रहणपछि अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य–मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले सदस्य व्यवसायीहरूको हकहित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।
बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ (ङ) बमोजिम महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका छन् । मनोनित सदस्यहरूलाई स्वागत गर्दै उनले संस्थाका आगामी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।
त्यसैगरी, केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ । नाडाले आगामी दिनमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।