काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फको मतगणनामा रोचक र आश्चर्यजनक परिणामहरू सार्वजनिक भएका छन् । देशभर प्रतिस्पर्धामा उत्रिएका केही उम्मेदवार मतदाताबाट समर्थन नपाउँदा केवल एक भोटमै सीमित भएका छन् । निर्वाचन आयोगका अनुसार देशभरका ३५ उम्मेदवारले एक भोट मात्रै प्राप्त गरेका छन् । उनीहरुले प्राप्त गरेको परिणामले चुनावी प्रतिस्पर्धाको रोचक पक्ष समेत उजागर गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३ हजार ४०६ उम्मेदवार मैदानमा उत्रिएका थिए । तीमध्ये अधिकांश उम्मेदवारले हजारौं मत प्राप्त गरे पनि केही उम्मेदवार भने मतदाताको समर्थन जुटाउन नसक्दा एक भोटमै सीमित भएका छन् ।
निर्वाचन परिणामअनुसार ३५ जना उम्मेदवारले मात्र एक मत प्राप्त गरेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले आफ्नै मतसमेत सुरक्षित गर्न नसकेको अवस्था देखिनुले राजनीतिक वृत्तमा पनि चर्चा सुरु भएको छ । सामान्यतया उम्मेदवारले कम्तीमा आफ्नै मत र परिवारजनको मत प्राप्त गर्ने अपेक्षा गरिए पनि केही उम्मेदवारको हकमा त्यो सम्भव हुन सकेन ।
निर्वाचनमा खटिएका कर्मचारीहरूका अनुसार यस्तो परिणाम आउनुका पछाडि विभिन्न कारण हुन सक्छन् । कतिपय उम्मेदवार आफैंले मतदान नगर्नु, मतदाता नामावली फरक स्थानमा हुनु वा मतदान प्रक्रियासम्बन्धी प्राविधिक कारणले पनि उम्मेदवारको मत अत्यन्त न्यून देखिन सक्छ ।
यद्यपि, चुनावी मैदानमा उत्रिएका हजारौं उम्मेदवारमध्ये केही उम्मेदवार मात्र एक मतमा सीमित हुनु भने प्रतिनिधिसभा निर्वाचनको रोचक तर अर्थपूर्ण संकेतका रूपमा पनि हेरिएको छ । यसले उम्मेदवारको स्थानीय पहुँच, संगठनात्मक बल र मतदाता आधार कति महत्वपूर्ण हुन्छ भन्ने तथ्यलाई पुनः उजागर गरेको चुनावका जानकारहरू बताउँछन् ।
यी उम्मेदवारले पाए १ भोट
सिरहा क्षेत्र नम्बर १ बाट ३ जना उम्मेदवारले १ मत मात्रै पाएका छन् । ती सबै उम्मेदवार स्वतन्त्र उम्मेदवार हुन् । रामदेव ठाकुर, मञ्चन महतो, सतीश चन्द्र सिंहले एक मत पाएका छन् । सिरहा १ बाट रास्वपाका बब्लु गुप्ताले सबैभन्दा धेरै ४१ हजार ३२२ मत ल्याएर विजयी भएका छन् ।
महोत्तरी २ नम्बर निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवारले एक मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार रेशमा देवीले १ भोट मात्रै पाएकी हुन् । महोत्तरी २ मा रास्वपाका दीपक कुमार शाहले ३२ हजार ७२२ मत ल्याएर विजय भएका छन् ।
सर्लाही २ बाट सत्य नारायण चौधरी कलवारले एक भोट मात्रै ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका रविन महतोले ४२ हजार ५१२ मत ल्याएर निर्वाचित भएका छन् ।
सर्लाही ३ बाट लोक बहादुर दर्लामीले १ भोट पाएका छन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका नरेन्द्र साह कलवारले ४६ हजार ८९० मत ल्याएर विजयी भएका छन् ।
रौतहट १ मा ३ जना उम्मेदवारले एक भोट मात्रै प्राप्त गरेका छन् । स्वतन्त्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका दिनेश कुमार यादव, मुनिन्द्र कुमार ठाकुर र रवि अर्चनम् वर्माले एक भोट मात्रै पाएका हुन् । रौतहट १ मा रास्वपाका राजेश कुमार चौधरीले २८ हजार ९४६ मत ल्याएर विजयी भएका छन् ।
रौतहट ३ मा स्वतन्त्रबाट उठेका रतनेश महतो कोइरीले १ भोट मात्रै पाए । सो निर्वाचन क्षेत्रमा रास्वपाका रविन्द्र पटेलले २७ हजार ३१८ मत ल्याएर निर्वाचित भएका छन् ।
बारा २ मा स्वतन्त्रबाट जालमहम्मत अन्सारीले १ मत मात्रै प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा रास्वपाका चन्द्र कुमार सिंहले ३५ हजार ५९० मत ल्याएर विजयी भएका छन् । बारा ३ मा २ जनाले एक भोट प्राप्त गरेका छन् । स्वतन्त्रबाट उठेका पूर्ण प्रसाद पन्थ र मंगेश्वर पटेलले १ मत प्राप्त गरेका छन् । बारा ३ मा रास्वपाका रहबर अन्सारीले ४१ हजार २ सय मत ल्याएर विजयी भएका छन् ।
पर्सा १ मा २ जनाले एक मत पाएका छन् । स्वतन्त्रका प्रेम मेहता र सरोज प्रसाद यादवले १ भोट मात्रै पाएका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बुद्धि प्रसाद पन्थले २७ हजार २७४ मत ल्याएर विजयी भएका छन् ।
पर्सा २ मा रोशन प्रसाद अहिरले १ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा सुशील कुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएका छन् ।
धादिङ २ मा रास्वपाका शिव निधि खनालले एक मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बोध नारायण श्रेष्ठले २६ हजार १४५ मत ल्याएर निर्वाचित भएका छन् ।
काठमाडौं १ मा रास्वपाका रञ्जु न्यौपानेले सबैभन्दा धेरै १५ हजार ४५५ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राजु भुजेल र शान्ति श्रेष्ठले १ मत पाएका छन् । काठमाडौं २ मा रास्वपाका सुनिल के.सीले ३४ हजार २३८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका इरा श्रेष्ठले एक मत पाइन् ।
काठमाडौं ३ मा रास्वपाका राजु नाथ पाण्डेले सबैभन्दा धेरै १८ हजार ७५७ मत ल्याएर विजय हुँदा मितेरी पार्टी नेपालका जित बहादुर तामाङले एक मत प्राप्त गरे ।
भक्तपुर २ मा राजीव खत्रीले रास्वपाबाट ४२ हजार ३३४ मत ल्याएर विजयी हुँदा चार जनाले १ मत मात्रै प्राप्त गरेका छन् । प्रदीप कुमार रुपाखेती, अनिता भट्टराई, मधु प्रकाश साहुखल, श्याम कृष्ण धुख्खाले एक मत मात्रै पाएका छन् ।
ललितपुर १ मा राम खड्काले एक मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बुद्ध रत्न महर्जन २३ हजार ३७३ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राम खड्काले १ मत मात्रै ल्याएका छन् ।
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमले ३६ हजार ३३ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राम कुमार खड्काले सबैभन्दा कम १ मत ल्याए । गुल्मी १ मा २ जनाले सबैभन्दा न्यून मत ल्याएका छन् । कृष्ण बहादुर सुनार र सूर्य बहादुर सोनी सुनारले एक मत ल्याएका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सागर ढकालले २९ हजार ६४२ मत ल्याएर निर्वाचित भएका छन् ।
रुपन्देही २ मा उषा भट्टराई, कमला बोहरा र मधुसूदन पन्थीले सबैभन्दा न्युन मत प्राप्त गरेका छन् । तीनै जना स्वतन्त्रबाट उठेका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत ल्याई विजयी भएका छन् ।
कपिलवस्तु ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत ल्याएर विजयी हुँदा २ जना उम्मेदवारले १ मत पाएका छन् । स्वतन्त्रबाट उठेका परमेश्वर दयाल मिश्र र हरिराम प्रसाद यादवले सबैभन्दा न्यून मत प्राप्त गरेका हुन् । दाङ ३ मा रास्वपाका कमल सुवेदीले सबैभन्दा धेरै ४४ हजार २४८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका सुरेश नेपालीले सबैभन्दा कम मत प्राप्त गरे ।